
राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश, नेपाल पत्रकार महासंघ तनहुँ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको संयुक्त आयोजनामा शनिबार दमौलीमा कोभिड -१९ ले पत्रकारहरुमा परेको असर विषयक मिडिया साझेदारी बैठक सम्पन्न भएकाे छ ।
तनहुँमा कोभिड -१९ को महामारीको बेला पत्रकारहरूले भोग्नु परेको समस्या र मानवअधिकार रक्षकको अवस्था भूमिका र चुनौतीका विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोग गन्डकी प्रदेश कार्यालय पोखराका निर्देशक चन्द्रकान्त चापागाईले कोभिड -१९ को बेलामा पत्रकारहरुलाई मनोवैज्ञानिक र आर्थिकरुपमा गम्भीर असर पारेको र सञ्चार माध्यमका सामग्रीको उत्पादनसमेत घटेको बताए ।यो जटिल स्थितिका कारण कतिपय पत्रकारहरु बेरोजगार भई पेशाबाटै पलायन हुनु परेको,ब्यबसाय परिबर्तन गरेको आदि जस्ता समस्या भएको उनले भने ।
त्यस्तै इन्सेक गन्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलले कोभिड १९ सक्रमणको जोखिमका बाबजुत पनि पत्रकारले अग्र भागमा खटेर काम गरिरहेको बताए । पत्रकारले सिंगो देशलाई परिर्वतन गर्न सक्ने भन्दै मानवअधिकार रक्षाकोलागि पत्रकार र मानवअधिकारकर्मीहरु सहकार्य गरेर जानु पर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा निर्देशक चन्द्रकान्त चापागाईले ‘मानवअधिकार रक्षक र उनीका चुनौती’, इन्सेक प्रदेश संयोजक शिव खकुरेलले ‘कोभिड १९ ले सन्चार र मानवअधिकार रक्षकमा पारेको प्रभाव’ र पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले ‘कोभिडले सन्चार क्षेत्रमा पारेको प्रभाव’ बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा इन्सेक प्रदेश कार्यालयकी कार्यक्रम संयोजक सवनम शर्मा, इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराई, नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष ओमकार आचार्य, आदिवासी जनजाती महासंघ तनहुँकीअध्यक्ष बसुन्धरा घर्ती, महिला मानवअधिकार रक्षक सन्जालकी कल्पना पौडेल लगाएतले मन्तव्य राखेका थिए ।
सो कार्यक्रममा पत्रकारहरूले पत्रकारिताको क्षेत्रमा भोग्नु परेको समस्या र आ आफ्नो अनुभवहरू सुनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?