संसद विघटन मुद्दामा बहस सकियो, अर्को पेशी असार २८ गते ताेकियाे

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सोमबार बहस सकिएको छ ।अब संवैधानिक इजलास असार २८ गते बस्नेछ ।

रिट निवेदक, सरकारी पक्ष र एमिकस क्युरीको राय पनि सकिएको सर्वोच्च अदालतले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले यो मुद्दाको पेसी २८ गतेलाई तोकेकाले फैसला २८ गते नै आउन सक्ने सम्भावना छ ।

सोमबार रिट निवेदक पक्षका कानुन व्यवसायीले जवाफी बहस गरे भने एमिकस क्युरीका रुपमा चयन भएका राघवलाल वैद्य, उषा मल्ल पाठक, कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीले राय दिएका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहित १४६ सांसदले सर्वोच्च अदालतमा रिट दायर गर्दै धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश माग गरेका छन् । उक्त रिटमाथि प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?