दमौली : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँ २ हजार ४ सय ४० कर्मचारी खटिने भएका छन् ।
निर्वाचनका लागि मतदान अधिृकत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी र स्वयंसेवकलगायतका कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि प्रसाद ढकालले जानकारी दिए ।
जिल्लाभर तीन सय ५ मतदान केन्द्र र १ सय ४२ मतदानस्थल कायम गरिएको छ । प्रतिमतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, पाँच सहायक कर्मचारी र एक कार्यालय सहयोगी कर्मचारी रहने छन् ।
त्यसैगरी चार स्वयंसेवक मतदान केन्द्रमै नियुक्त गरेर खटाइने निर्वाचन कार्यालय तनहुँले जनाएको छ । तनहुँका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यका लागि जिल्लाका दशवटै स्थानीय तह गरी २ लाख ४८ हजार ४ सय ९५ मतदाता छन् ।
मतदाता शिक्षाका लागि जिल्लास्तरीय समितिसमेत गठन गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्लामा एक हजार तीन सय ९२ जना म्यादी प्रहरी निर्वाचनको सुरक्षामा खटिने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?