
दमौली –बैंक तथा वित्तिय संस्थाहरुले वृद्धि गरेको ब्याजदरका विरुद्ध आज बिहिबार तनहुँ उद्योग वाणिज्य संघले ज्ञापन पत्र बुझाएको छ ।जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल मार्फत संघले नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलाई संघका अध्यक्ष पबिन्द्र कुमार श्रेष्ठले ज्ञापन पत्र बुझाएको हो ।
उद्योग, व्यापार, व्यवसायमा आएको मंन्दीसंगै हुन गएको तरलता अभावको समस्या झेली रहेको निजी क्षेत्रलाई राहत दिनुपर्ने ठाउंमा आहात पुग्ने गरी एकपक्षीय ढंगले बैंक तथा वित्तीय संस्थाहरूबाट अनुचित रूपमा गरिएको व्याजदर वृद्धि र संशोधित कर्जा नीतिका कारण उद्योगी, व्यवसायीहरू अत्यन्तै पीडित हुनु पर्ने र सामान्यतया सञ्चालनमा रहेका उद्योग व्यापार व्यवसायहरू पनि बन्द गर्नु पर्ने अत्यन्त जटिल अवस्थाको सिर्जना भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । आर्थिक संकट परिरहेको बर्तमान असहज परिस्थितिमा बैंक तथा वित्तीय संस्थाहरूबाट अचानक गरिएको कर्जाको ब्याजदरमा उच्च बृद्धी एवं चालु पूजी मार्गदर्शन २०७९ मा गरिएको व्यवस्था प्रति तनहुँ उद्योग बाणिज्य संघ लगायत तनहु जिल्लाको आम नीजि क्षेत्रकोको गम्भिर ध्यानाकर्षण भएको संघले जनाएको छ ।
कोभिड १९ को माहमारीका कारण र विश्व व्यापारमा देखिएको आर्थिक मन्दीसँगै नेपालको नीजि क्षेत्र थला परी अर्थतन्त्रनै धरापमा परेको एवम् मुलुकको अर्थतन्त्रमा चौतर्फि दवाव परिरहेको र निजी क्षेत्रले आफ्नो व्यवसायिक अवस्थालाई पुनःजागृत गर्नुपर्ने अवस्थामा पछिल्लो समय भएको व्याजदर बृद्धिले व्यवसायीलाई निकै आहत पुगेको संघले जनाएको छ । मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउंदै आयात प्रतिस्थापनका लागि संघर्षरत निजी क्षेत्रलाई यसरी अवैज्ञानिक रुपमा बृद्धि गरिएको व्याजदरले उद्योग व्यवसायनै बन्द गरि विस्थापित हुनुपर्ने वाध्यात्मक परिस्थिति सिर्जना गरेको संघको भनाइ रहेको छ।
साथै उपरोक्त माग सम्बोधन नभएमा नीजि क्षेत्रको सहभागितामा बैंक तथा वित्तीय संस्थाहरूलाई बहिष्कार गर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्नु पर्ने साँवा, ब्याज नबुझाउने, उद्योग, व्यापार व्यवसाय बन्द गरि चरणवद्ध रुपमा कडा आन्दोलन गर्न बाध्य हुने समेत संघले विज्ञप्ती मार्फत जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको कार्यक्रममा ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले आजै सम्बन्धित निकायमा संप्रेशण गर्ने जनाएका छन् ।
ज्ञापन पत्र पेश गर्ने क्रममा जिल्लका २६ भन्दा बढी संघ- सस्थाका प्रतिनिधिहरु तथा व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
ज्ञापन पत्र
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?