मृगौला पीडितलाई तनहुँ समाज हङकङद्धारा २ लाख ४६ हजार सहयोग

दमौली :  पछिल्लो समय विभिन्न रोगबाट पीडित भएकाहरुको उपचारार्थ सहयोग गर्दै आएको तनहुँ समाज हङकङले सोमबार एक महिलालाई सहयोग गरेको छ । केही समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित बनेकी तनहुँको व्यास–८ मगर जौबारीकी २५ वर्षीया प्रिती गुरुङ रानालाई आर्थिक सहयोग गरेको हो ।

रानाको उपचारार्थ समाजले २लाख ४६ हजार ६ सय ५० आर्थिक सहयोग गरेको छ । तनहुँ समाज हङकङका निवर्तमान अध्यक्ष जंग बहादुर थापा, पूर्व अध्यक्ष भीमराज गुरुङ र सचिव सुवित गुरुङले पीडितलाई सहयोग हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण गर्दै समाजका निवर्तमान अध्यक्ष थापाले बिगत देखीनै समाजले तनहुँको समाजिक बिकाससँगै विभिन्न रोगका पीडितलाई सहयोग गर्दै आएको बताए । दुख पीडामा परेको खबर समाजलाई प्राप्त हुनासाथ आफ्नो क्षमता अनुसार सहयोग संकलन अभियानमा जुट्ने गरेको थापाले बताए ।

साथै पूर्व अध्यक्ष गुरुङले १९९९ देखी समाजले तनहुँको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको जानकारी दिए । सुरुका दिनमा शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएकोमा पछिल्लो समय स्वास्थ्य क्षेत्रमा सहयोग गरेको उनले बताए ।

उक्त रकम समाजका सचिव सुवित गुरुङको संयोजकत्वमा संकलन गरिएको थियो । विभिन्न शिलशिलामा हङकङ पुगेका तनहुँगे र गैर तनहुँगे सँग समन्वय गरी रकम संकलन गरिएको गुरुङले बताए ।

हङकङमा रहेका दाजुभाइ दिदीबहीनीहरुले आफ्नो कमाइबाटै क्षमता अनुसार सहयोग गर्दै आएकाले पीडितहरुलाई सहयोग गर्न सकिएको उनले बताए ।

समाजले भुकम्पपछिको पूननिर्माण, बाढी पहिरो जस्ता दैवि प्रकोपबाट पीडित, विभिन्न स्वास्थ्य समस्याबाट पीडितलाई सहयोग गर्नुका साथसाथै तनहुँको शिक्षा, स्वास्थ्य र खानेपानी, सञ्चार सम्बन्धि पूर्वाधार बिकास तथा प्रवद्र्धनमा समेत सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?