तनहुँ-१ का ३ मतदानस्थल अतिसंवेदनशील

दमौली : आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नं १ का ६९ मध्ये ३ स्थललाई अतिसंवेदनशीलको र २४  स्थललाई संवेदनशीलको सूचीमा राखिएको छ ।

निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी ४२ स्थललाई भने सामान्य स्थलको सूचीमा राखिएको  जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए।

उपनिर्वाचनमा सबै मतदान स्थललाई सुरक्षाका दृष्टिले बराबरी महत्वका साथ लिइएको उनको भनाइ छ । “सम्पूर्ण राजनीतिक दलको ध्यान उपनिर्वाचन हुने क्षेत्रमा पर्ने भएकाले सबै उत्तिकै संवेदनशिल छन्”, उनले भने, “राजनीतिक दल, नागरिक समाज तथा जनताको समेत चासो बढ्ने भएकाले सबै स्थलमा सुरक्षा व्यवस्था कडा बनाउने तयारीमा प्रशासन छ ।”

निर्वाचनमा नेपाली सेना परिचालनका लागि सरकारले निर्णय गर्ने भन्दै अहिलेको समयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालनका लागि सुरक्षा योजना बनाइ गृहकार्य अघि बढाइएको उनको भनाइ छ । “जनताले सुरक्षित महसुस गर्ने गरी सुरक्षाकर्मी परिचालन हुन्छ, सबै मतदान स्थलमा वैशाख ७ गतेभित्र सुरक्षाकर्मी पुगिसक्नुहुन्छ”, उनले भने ।

६९ मतदानस्थलका १५२ मतदान केन्द्रका लागि मतदान एक जना अधिकृत र त्यत्तिकै सङ्ख्यामा सहायक मतदान अधिकृत, दुई जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी परिचालन गर्न लागिएको बताए  । उनीहरुको लागि बैशाख ५ र ६ गते दमौलीमा तालिम संचालन हुने छ ।

गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित रामचन्द्र पौडेल रास्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका गोबिन्द भट्टराई , नेकपा (एमाले)बाट सर्वेन्द्र खनाल , राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले सहित ९ जनाको उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?