आदिकवि भानुभक्त क्याम्पसलाई दोस्रोपटक क्युएए मान्यता

दमौली : तनहुँको व्यास नगरपालिका-१ भादगाउँ स्थित बिज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ ।

क्युएए प्राप्तसँगै क्याम्पस अन्तर्राष्ट्रिय स्तरको मान्यतामा सूचीकृत भएको छ ।

विश्वविद्यालय अनुदान आयोग गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रक्रियामा सहभागी भै सबै चरण पार गरि शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषदको सिफारिस अनुसार क्याम्पसलाई दोस्रो पटक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त भएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए ।

शैक्षिक, भौतिक तथा प्रशासनिक क्षेत्रमा उल्लेखनीय सुधार भएकोले आदिकवि भानुभक्त क्याम्पसले क्युएएको मान्यता पाएको क्याम्पस प्रमुख  हड्खलेले बताए ।

क्याम्पसका उपप्राध्यापक र कर्मचारीहरुको अहोरात्र खटाइले मात्र क्यूएए प्राप्त भएको क्याम्पस प्रमुख हड्खलेको भनाई छ ।

क्याम्पसमा अध्ययन गर्न विद्यार्थीको आकर्षण बढेसँगै यो क्याम्पस जिल्लाकै शैक्षिक हबको रुपमा विकास हुँदै गइरहेको छ । व्यास नगरपालिका, ऋषिङ, म्याग्दे , बन्दीपुर गाउँपालिकाका अतिरिक्त छिमेकी जिल्लाबाट पनि यहाँ पठनपाठनका लागि आउने गरेका छन् ।

विसं २०४३ मा समुदायको सक्रियतामा क्याम्पस स्थापना भएको थियो । तत्कालीन बेला यस ठाउँमा निर्मल माध्यमिक विद्यालय मात्रै थियो । आफ्नै ठाउँमा क्याम्पस नहुँदा अन्यत्र गएर उच्च शिक्षा अध्ययन गर्नुपर्ने बाध्यता भएपछि स्थानीयवासीले क्याम्पस स्थापना गरेका थिए । क्याम्पस सञ्चालनको सुरुआतमा भवन नहुँदा लायन्स क्लवको ५० हजार अमेरिकी डलरको सहयोगमा भवन निर्माण गरिएको थियो ।

क्याम्पसमा विद्यालय तह देखि स्नाकोत्तर तहसम्म पढाइ हुदै आएको छ भने क्याम्पसमा करिव ३ हजार विद्यार्थी रहेका छन् । त्यसमध्ये ९० प्रतिशत विद्यार्थी ग्रामीण भेगका छन् भने १८ प्रतिशत विद्यार्थी दलित र ७० प्रतिशत विद्यार्थी विपन्न वर्गका छन् ।

कक्षा ११ देखि स्नातकोत्तरसम्मको अध्ययनमा दलित, छात्रा र विपन्नलाई सहुलियत दिँदै आइएको छ । त्यस्तै सहिद परिवार र अपाङ्गता भएकालाई ७५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । ३० छात्रालाई छात्रावासमै बसेर अध्ययन गर्ने व्यवस्था मिलाइएको छ ।

क्यूएए प्राप्त गर्ने आदिकवि भानुभक्त क्याम्पस तनहुँको पहिलो क्याम्पस हो । क्याम्पसले प्रमाणपत्र भने केहि दिनमै प्राप्त गर्ने क्याम्पसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?