गण्डकी : सरकारको ३३ अर्ब ४२ करोड ७२ लाख बजेट

पोखरा : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४२ करोेड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ ।

अघिल्लो वर्षभन्दा डेढ अर्ब सानो बजेट अर्थमन्त्री जीतप्रकाश आलेले प्रस्तुत गरेका हुन् ।

सरकारले ल्याएको बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख अर्थात कुल विनियोजित बजेटको ३८.१ प्रतिशत विनियोजन भएको छ । पुँजीगततर्फत २० अर्ब १९ करोड अर्थात ६०.४ प्रतिशत बजेट ल्याइएको छ ।
सरकारले १ अर्ब ७० करोडको घाटा बजेट ल्याएकोे हो । यसरी कम हुन आउने बजेट आन्तरिक ऋणबाट पूर्ती हुने व्यवस्था मिलाएको अर्थमन्त्री आलेले बताएका छन् ।

सरकारको अनुमानित बजेटमध्ये वित्तीय व्यवस्थातर्फ ५० करोड अनुमान गरिएको छ । आगामी वर्ष १ दशमलव ५ प्रतिशत प्रदेश सञ्चिती कोषमाथि व्ययभार पर्ने अनुमान गरेको अर्थमन्त्री आलेले बताए ।

आगामी आर्थिक वर्षमा खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदानबाट ७ अर्ब ६२ करोड २५ लाख, राजश्व बाँडफाँडबाट ९ अर्ब ५ करोेडकोे अनुमान गरिएको छ । रोयल्टी बाँडफाँडबाट ४० करोड, ससर्त अनुदानतर्फत ४ अर्ब ९४ करोड, समपूरक अनुदानतर्फ ८४ करोड, विशेष अनुदानतर्फ ७० करोड प्राप्त हुने अनुमान अर्थमन्त्री आलेले प्रस्तुत गरे ।

प्रदेशको आन्तरिक स्रोतबाट राजश्वबापत ५ अर्ब १६ करोड ९१ लाख संकलन हुने अनुमान गरिएको छ । साथै चालु आर्थिक वर्षको कार्यक्रम कार्यान्वयनबाट ३ अर्ब नगद मौज्दात रहने अनुमान अर्थमन्त्री आलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?