दमौली : तनहुँको व्यास नगरपालिका–२, गणेशमान चोकस्थित जिल्ला समन्वय समितिको नाममा रहेको जमिनमा बनाइएका दमौली ट्रेड सेन्टरको व्यापारिक भवन भत्काएर उद्यान (पार्क) बनाउनुपर्ने माग उठेको छ।
मंगलवार वडाका टोलविकास समिति तथा अन्य व्यक्तिहरुले पत्रकार सम्मेलन गर्दै उक्त स्थान खाली गराउनुपर्ने र अतिक्रमणमा परेका अन्य ठाउँका संरचनाहरू भत्काउनुपर्ने माग राखेको छ।
वडा सदस्य सुरेश वाग्लेले व्यापारिक प्रयोजन भइरहेको दमौली ट्रेड सेन्टरका संरचना भत्काएर बाल बगैँचा (चिल्ड्रेन पार्क) बनाउन माग गरेका छन ।
“स्थानीयसहित १७ वटै टोल विकास संस्थाको संयुक्त भेलाले सो स्थानमा व्यापारिक प्रयोजन भइरहेको दमौली ट्रेड सेन्टरका संरचना भत्काएर बाल बगैँचा (चिल्ड्रेन पार्क) निर्णय गरिसकेका छौँ, उनले भने ” जिल्ला समन्वयले पुनःपाँच वर्ष बिना प्रतिस्पर्धा म्याद थप गर्नु आपत्तिजनक छ । ”
“खुला कतै छैन, जताततै भौतिक संरचना छन् ,भुइँचालोलगायत अन्य प्राकृतिक प्रकोप गयो भने बस्ने ठाउँ छैन। ” वडा सदस्य वाग्लेले भने ” त्यही भएर भत्काउनुपर्ने माग राखिएको हो ।”आगामी असार मसान्तपछि ट्रेड सेन्टर जिल्ला समन्वय समितिको स्वामित्वमा आउने र साउन १ गतेदेखि उक्त सटर जिल्ला समन्वय समितिले प्रतिस्पर्धाबाट भाडामा लगाउने तयारी गरेको छ ।
२०६९ साल असार ३१ गते तत्कालीन जिल्ला विकास समिति र व्यास नगरपालिका–४ का दिपेश बस्नेतबीच भएको व्यापारिक सम्झौता गरी खुला स्थानमा व्यापारिक भवन बनाइएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?