मुख्यमन्त्री नफर्किएपछि कोसी प्रदेश सभा बैठक स्थगित

काठमाडौं : कोसी प्रदेश सभा बैठक स्थगित भएको छ । बिहीबार अपराह्न सवा ५ बजेतिर आधा घण्टाका लागि स्थगित भएको बैठक शुक्रबार (भोलि)सम्मका लागि स्थगित भएको हो ।

अब भोलि बिहान ११ बजे बैठक बस्ने छ ।

‘केही तथ्यांक लिएर आउँछु’ भन्दै मुख्यमन्त्री हिक्मत कार्की प्रदेश सभा सचिवालयबाट निस्किएका थिए । तर, उनी प्रदेश सभामा नफर्किएपछि बैठक स्थगित गरिएको हो ।

आजको बैठकबाट मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने तय भएको थियो । त्यसका लागि उनले आज प्रदेश सभा बैठकमा विश्वास मतसम्बन्धी प्रस्ताव पेस गरिसकेका थिए । उनको प्रस्तावमा भाग लिँदै विभिन्न दलका सांसदहरूले धारणा राखेका थिए ।

त्यसपछि सभामुखले सवा ५ बजेतिर आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । तर, निर्धारित समयमा बैठक सुरु हुन सकेन । बरु साँझ ७:२० बजे प्रदेश सभा सचिवालयले ८ बजे बस्ने गरी सूचना निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?