नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

मुग्लिन  : नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गएराति ११ बजेदेखि पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।

अहिले पहिरो पन्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरोमा विद्युतको तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।

पहिरो हटाउन उपकरण तयारी अवस्था राखिएको छ । सोही स्थानमा गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन् ।

पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?