
काठमाडौं : पछिल्लो साढे दुइ महिनाको अवधिमा विपद्का घटनामा परी एक सय जनाको मृत्यु भएको छ । विपद्का घटनामा परी २६ जना बेपत्ता भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८० वैशाख १ गतेदेखि असार २० गतेसम्मको अवधिमा देशभर एक हजार ८३९ वटा विपद्का घटना रेकर्ड भएका छन्। ती घटनामा परी एक सय जनाको मृत्यु भएको हो ।
बाढी, पहिरो, हाई अल्टीच्युड, चट्याङ, आगलागी, हुरी बतास, जनावरको आक्रमण, हिमपहिरो, वन डढेँलो र अन्य गैरप्राकृकित विपद्का घटनामा परी उनीहरुको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको तथ्याङ्कअनुसार उक्त अवधिमा सबैभन्दा बढी क्रमसः आगलागीका एक हजार ४१, पहिरोका २१९, वन डढेलोका १३१, हुरी बतासका १०५, बाढीका ८५, जनावर आक्रमणका ६६ वटा घटना रेकर्ड भएका छन् ।
रेकर्ड भएका विपद्का घटनामध्ये चट्याङ लागेर २१, पहिरोमा परी १७, आगलागीमा परी १६, हिमपहिरोमा परी १२, जनावरको आक्रमणबाट ११, बाढीमा परी ११, हाई अल्डिच्युडका कारण चार, वन डढेँलोमा परी पाँच, हुरी बतासका कारण एक र अन्य गैरप्राकृतिक विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
पछिल्लो साढे दुई महिनामा बाढीमा परी २०, पहिरोमा परी पाँच र डुंगा पल्टिदा एकजना बेपत्ता भएका छन् । विपद्का विभिन्न घटनामा परी सोही अवधिमा ३४३ जना घाइते र दुई हजार ६७२ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ ।
२०८० साल सुरु भएयता विपद्का घटनाका कारण राज्यले ७५ करोड ५६ लाख ३९ हजार ११५ रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्नु परेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ । विपद्का घटनामध्ये सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीका घटनाले ६८ करोड ९३ लाख ९७ हजार ११५ रुपैयाँको गरेको छ ।
आगलागीपछि ठूलो आर्थिक क्षति बाढी, पहिरो, चट्याङ, भारीवर्षा, हुरी बतास, जनावर आक्रमण र वन डढेँलोका घटनाले गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा (२०७९ वैशाख १ देखि असार २० गतेसम्म) विपद्का घटनामा परी १०७ जनाको मृत्यु र एक जना बेपत्ता भएका थिए । उक्त समयमा रेकर्ड भएका ९८० वटा विपद्का घटनाले ६५ करोड ६५ लाख ६४ हजार ५६० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?