काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपालीले गएको निर्वाचनमा गठबन्धनका दलले एक्लै भाग खोजेको स्थानमा नतिजा खराब आएको बताएका छन् ।
जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले आफ्ने हैसियतअनुसार प्रस्तुत भएका क्षेत्रमा भने चुनाव जितिएको बताए ।
“जुन जिल्लामा गठबन्धनका दलले समझदारीपूर्वक आफ्नो हैसियतअनुसार पार्टनर पार्टीले सोचेका थिए । त्यहाँ गठबन्धन सफल भएको छ । जहाँ उहाँहरुले त्यो कुरो गर्नुभएको छैन,” उनले भने, “एकतर्फी भाग खोज्नुभएको छ । भागमा परेको उमेदवारी लानुभएको छ । त्यहाँ रिजल्ट आएको छैन ।”
उनले गठबन्धन गरेर भए पनि ठूलो पार्टी हुनुमा उपलब्धि भएको बताए । गठबन्धन फेरिँदा देशमा निराशा फैलिएको भन्दै फेरि दुई महिना नपुग्दा बोल्दै नबोली पासा पल्टाएकोमा सभापतिलाई धन्यवाद दिए ।
उनले कांग्रेस, कांग्रेसका नेता खत्तम, मुलुक डुब्न लाग्यो भन्दै सामाजिक सञ्लालमा प्रचार भइरहेको बताउँदै त्यसलाई चिरेर अघि बढ्नुपर्ने बताए ।
उपनिर्वाचनमा पार्टी सभापतिसहितका नेता लाग्दा समेत चुनाव हारिएको उनले बताए । सुन्दै नसुनेको पार्टी जितेका क्षेत्रमा पनि प्रतिस्पर्धी देखिएको उनको भनाइ छ ।
उनले बीपी कोइराला पनि नचिन्ने पुस्ता आएको भन्दै तिनलाई आकर्षण गर्ने कार्यक्रम अघि बढाउनुपर्ने बताए ।
“बीपी पनि नचिनेको पुस्ता आएको छ । ०६२–६३ पछिको पुस्तालाई के गरेर चित्त बुझाउने हो,” उनले भने, “महामन्त्रीको प्रतिवेदन आएको अभियानमा त्यो पुस्तालाई छुने कार्यक्रम पनि आओस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?