अधिवक्ता पाण्डेलाई पक्राउ नगरे आन्दोलन गर्ने मगर संघको चेतावनी

काठमाडौं : नेपाल मगर संघले अधिवक्ता भगवती पाण्डे (शितल) लाई पक्राउ नगरे आन्दोलन थाल्ने चेतावनी दिएको छ ।

संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तामाङ, मगरलगायत आदिवासी समुदायविरोधी अभिव्यक्तिपछि मगर समुदायले जाहेरी दिइसकेको अवस्थामा पनि पक्राउ नगरिएको भन्दै आन्दोलन थाल्ने चेतावनी दिएको हो ।

पाण्डेलाई पक्राउ गर्न आनाकानी गरे दबाब दिन जिल्ला प्रहरी परिसर काठमाडौंमात्रै नभएर देशैभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने संघले चेतावनी दिएको छ ।

संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले नेपाल बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएकाले देशको विविधता र संविधानअनुसार चल्नुपर्ने बताए ।

उनले साउन ९ गते अधिवक्ता भगवती पाण्डेविरुद्ध जाहेरी दर्ता गरेर पक्राउ पुर्जी जारी गरे पनि उनलाई पक्राउ गर्न आनाकानी गरिरहेको आरोप लगाए ।

पाण्डेको अभिव्यक्तिले नेपालको बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक समाजको सांस्कृतिक सहिष्णुतामाथि खलल पुग्न गएको संघको निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?