कृष्णबहादुर महराका छोरा भन्छन्ः कोही व्यक्तिसँग सम्पर्क हुँदैमा अपराधमा संलग्न हुँदैन

काठमाडौं : भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा नाम मुछिएपछि राहुल महराले बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोजेको आरोप लगाएका छन् । सञ्चारमाध्यम आफै न्यायालय बन्न खोजेको भन्दै महराले असन्तुष्टि समेत जनाएका हुन् ।

पूर्व सभामुख कृष्णबहादुर महराका छोरासमेत रहेका राहुल महराले राज्यको निकायले अनुसन्धान गरिरहेको पूर्ण रुपमा सहयोग गर्ने बताउँदै प्रमाणित देखिए कानुन बमोजिम भागिदार हुने जिकिर गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्ः

हाम्रो विषयमा केही दिनयता विभिन्न सञ्चारमाध्यममा बारम्बार आइरहेका आरोपहरूप्रति गम्भीर आपत्तिसहित दुःख व्यक्त गर्दछौँ। पुष्टि नभएको र प्रहरीले अनुसन्धान गरिरहेको विषयमा बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोज्ने गलत कार्यको भर्त्सना गर्दछौँ।

सञ्चारमाध्यमले पुष्टि नभएको विषयमा बारम्बार आरोप लगाएर जबरजस्त पुष्टि गराउन खोज्नु गलत मात्र होइन, आफै न्यायालय बन्न खोज्नु हो । सञ्चारमाध्यमबाट एकोहरो आक्रमण हुनु को पछाडि हामीले बुझ्न सकेका छैनौ । हामीले यसअघि नै विषय स्पष्ट पारिसकेका छौँ कि कोही व्यक्तिसँग सम्पर्क हुँदैमा, केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र समाचार लेखी भ्रमित पार्नु गलत हो।

राज्यको निकायले अनुसन्धान गरिरहेको विषयलाई हामीले पूर्ण रूपमा सहयोग गर्ने कुरामा प्रष्ट पारेका छौँ र प्रमाणित देखिए कानुन बमोजिम भागिदार हुनेछौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?