दमौली : तनहुँको व्यास नगरपालिका–३ मा निर्माणाधीन सभाहल अपाङ्गतामैत्री नबनाएसम्म कसैलाई उद्घाटन गर्न नदिने बताएका छन् ।जिल्लाकै ठूलो आयोजनामध्येको एक सभाहललाई अपाङ्गतामैत्री नबनाएसम्म उद्घाटन गर्न नदिने अधिकारकर्मीहरुले बताएका हुन् ।
शुक्रवार सभाहलको गेटमा पत्रकार सम्मेलन गर्दै अपाङ्गताको अधिकारका लागि काम गर्ने रिसेड तनहुँका पुर्व अध्यक्ष मदन पौडेलले सभाहललाई अपाङ्गतामैत्री नबनाएसम्म उद्घाटन गर्न नदिने बताए। ‘भदौ २४ गते राष्ट्रपति रामचन्द्र पौडेल ज्युले भवनको उद्घाटन हल्ला बजारमा छ’ उनले भने :’ हामी कुनै पनि हालतमा अपाङ्गतामैत्री नभएसम्म सभाहल उद्घाटन दिन्नौं ।’
सरकार आफैले निर्मण गरेको कानुन मिचेर भवन निर्मण गरेको समेत सघर्ष समितिका संयोजक समेत रहेका पौडेलले आरोप लगाए। सरकारी भवन अपाङ्गतामैत्री बनाउनुपर्छ भन्ने सरकारको प्रष्ट निर्देशन रहे पनि व्यवहारमा कार्यान्वयन नभएको उनको भनाइ छ ।
उनले भने, ‘भवनको प्रवेशद्वार नै हाम्रा लागि काँडेतार लगाएको महसुस भयो, यति ठूलो सार्वजनिक भवन त्यो पनि अहिलेको जमानामा अपाङ्गतामैत्री नहुनु दुःखद् हो । भवनमा अपाङ्गता भएका व्यक्तिका लागि शौचालयसमेत छैन । मूल हलमा ह्वीलचियर प्रयोग गर्ने व्यक्तिका लागि दर्शकदीर्घामा बस्ने ठाउँ छैन ।’
अपाङ्गता भएका व्यक्तिहरुको संघर्ष समितिका सह-संयोजक ईश्वर बास्तोलाले श्रावण ३१ गते हिजो जिल्ला प्रशासन कार्यालयको एक ताला माथि कोठे केही व्यक्तिहरु संग गरेको सहमति कुनै पनि अवस्थमा मान्य नहुने बताए । ‘आज देखि नै शान्तिपूर्ण आन्दोलनको सुरु भएको छ ‘ उनले भने : ‘ त्यस क्रममा राज्यले हामी माथि बल प्रयोग गरी दमन गरेमा उक्त अवस्थामा उत्पन्न भएको सम्पूर्ण परिस्थितिको जिम्मेवारी राज्य पक्षले नै लिनुपर्नेछ।’
त्यस्तैगरी, नेपाल नेत्र ज्योति संघ तनहुँका सचिव विजय कुमालले सरकारले आफुले निर्माण गरे अनुसार कार्यान्वयन गरिदिए पुग्ने बताए। संघर्ष समितिले भदौ ३ गते सभाहल र ४ गते जिल्ला समन्वय समितिको कार्यालयमा ताला लगाउने कार्यक्रम रहेको जनाएको छ । विक्रम संवत् २०७४ माघ २८ गतेदेखि निर्माण शुरू भएको भवन कोरोना त्रासका कारण ढिलाइ भएको थियो । विक्रम संवत् २०७७ असार १५ गतेभित्र सम्पन्न गर्नुपर्ने भवन कोरोनाको चपेटामा परेको थियो ।
भ्याटबाहेक २३ करोड ६२ लाख ४३ हजार ३३१ रुपैयाँको लागतमा निर्माण भइरहेको भवन विक्रम संवत् २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौंस्थित डाँफे/एमए/प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो । सोही ठाउँमा रहेको पुरानो सभागृह भत्काएर विक्रम संवत् २०७४ माघ २८ गतेदेखि भवन निर्माण शुरू भएको थियो ।
सभाहल निर्माण सम्पन्न भएको मितिदेखि १ वर्षसम्म मर्मतसम्भारको अवधि राखिएको छ । ७५० जना क्षमता भएको सभाहलको बेस ग्राउन्डमा २० कार तथा ७० मोटरसाइकल पार्किङ गर्न सकिनेछ । भवनमा मुख्य सभाहलबाहेक १५० जना क्षमताको सेमिनार हल निर्माण हुनेछ । सभाहल बाहिर फाउन्टेन सहितको विशिष्ट कक्ष (भीआईपी) पार्किङस्थल समेत रहनेछ । सभाहल ५३ मिटर लम्बाइ, १५ उचाइ र २५ दशमलव ५ चौडाइको हुनेछ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?