कास्की : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुनकाण्डको अनुसन्धानलाई अन्तिम निष्कर्षमा पुर्याएर यसको नेटवर्कको पहिचान गरी दोषीमाथि कारबाही गरिने बताएका छन् ।
राज्यको व्यावसायिक, पेसागत रूपमा दक्ष र जिम्मेवार संरचना र संयन्त्रहरूले काम गरिरहेकाले सुनकाण्डको अनुसन्धानका लागि अर्को उच्चस्तरीय समिति बनाउन आवश्यक नरहेको उनले उल्लेख गरे ।
शनिबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा गृहमन्त्री श्रेष्ठले सुनकाण्डको सीआईबीले अनुसन्धानको प्रक्रिया अघि बढाउँदा दोषीहरू पत्ता लाग्ने र उनीहरूलाई कानुनको दायरामा ल्याउन सकिने स्पष्ट पारे ।
उनले भने, “यसअघि यस्तै काण्डमा संसद्बाट समिति बनाइएयो, समितिको रिपोर्ट आयो, सिद्धियो । अर्को एकपटक केपी ओली प्रधानमन्त्री भएका बेला ३३ किलो सुनकाण्डका लागि छानबिन समिति बनाइयो, समितिको रिपोर्ट आयो, अन्य केही पनि आएन, न सुन आयो न सिफारिस कार्यान्वयन भयो । त्यसैले हामीले अनुसन्धानका लागि विकसित गरेका हाम्रा दक्ष संरचनाले अनुसन्धान र अभियोजनको दुवै प्रक्रिया अघि बढाउँछ । त्यसैलाई नै जिम्मेवारी दिनु उपयुक्त हुन्छ ।”
उपप्रधानमन्त्री श्रेष्ठले सुशासन र भ्रष्टाचारविरुद्धको अभियान अघि बढाउने प्रक्रियाले निरन्तरता पाइरहेका बेलामा प्रमुख प्रतिपक्ष दलबाट संसद् अवरोध हुनु दुःखद भएको उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?