मेसीप्रेरित इन्टर मियामीलाई पहिलो उपाधि

काठमाडौं : अर्जेन्टिनी फरवार्ड लियोनल मेसीको कप्तानीमा मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीले क्लब इतिहासमा पहिलो उपाधि जितेको छ ।

आइतबार जियोडिस पार्कमा सम्पन्न लिग्स कपको फाइनलमा घरेलु टिम नास्भिललाई सडन डेथमा १०–९ ले हराउँदै सन् २०१८ मा स्थापना भएको मियामीले पहिलो उपाधि जितेको हो । त्यसअघि, खेलको निर्धारित समयमा १–१ को बराबरी भएको थियो ।

खेलको २३औँ मिनेटमा मेसीको गोलमा इन्टर मियामीले अग्रता बनाएको थियो । इन्टर मियामीबाट सात खेल खेलेका मेसीको यो १०औँ गोल हो । मेसीको यो गोल निर्णायक भने बन्न सकेन ।

५७औँ मिनेटमा फिफा पिकाउल्टले गोल गर्दै नास्भिललाई खेलमा फर्काएका थिए । यसपछि खेलको निर्धारित समयमसम्म दुवै टिमबाट थप गोल हुन नसकेपछि नतिजाको निर्णय सोझै पेनाल्टीबाट भएको हो ।

पेनाल्टीमा इन्टर मियामीबाट मेसी, सर्जिओ बुस्केट, लियोनार्दो क्याम्पाना, कमल मिलर, सेर्ही क्रिभ्स्टोभ, जोर्डी अल्बा, डियागो गोमेज, डेभिज रुइज, डिएन्ड्रे येडिन र ड्राक क्यालेन्डरले गोल गरे । मियामीका भिक्टर उलोअले गरेको प्रहार नास्भिलको गोलकिपरले बचाएका थिए ।

नास्भिलका ह्यानी मुख्तर, एनिबल डोडोए, वाल्कर जिमेरम्यान, साम सुरिज, साकिल मुरे, ड्यानिलय लोभिज, लुकास म्याकनटन, सियन ड्याभिस र जाकोब सफिदबर्गले गोल गरे ।

नास्भिलका र्‍यान्डल लिएल र एलिओट पिनिकोको प्रहार इन्टर मियामीका गोलकिपरले विफल बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?