दोस्रो पाटन खेलकुद, कृषि व्यापार, सांस्कृतिक तथा पर्यटन महोत्सव असोज २४ गतेदेखि हुने

दमौली : दोस्रो पाटन खेलकुद, कृषि व्यापार सांस्कृतिक एवं पर्यटकीय महोत्सव आगामी असोज २४ गतेदेखि  हुने भएको छ । तनहुँको व्यास नगरपालिका-५ स्थित पाटनमा रहेको पाटन युवा क्लबको आयोजनामा खेलकुद मैदान पाटनमा महोत्सव  हुन लागेको हो ।

क्लबले बिहिवार पत्रकार सम्मेलन गरी परम्परागत कला, सांस्कृतिक औद्योगिक व्यापार कृषि घरेलु हस्ताकला को प्रवर्द्धन गर्ने उद्देश्यसहित महोत्सव गर्न लागिएको क्लबका अध्यक्ष अमर थापाले जानकारी दिए।

आर्थिक, सामाजिक विकासका साथै स्थानीय उत्पादन, कृषि, धार्मिक, सांस्कृतिक, पर्यटकीयस्थल, उद्योग, व्यापार व्यवसायको सम्भाव्यता अध्ययन गरी प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव गर्न लागिएको क्लबका अध्यक्ष थापाले बताए ।

रमाइलो मेला, फुटवल, भलिवल प्रतियोगिता समेत हुने महोत्सवमा प्रवेश गर्नका सामान्य व्यक्तिका लागि ८० रुपियाँ र  विद्यार्थीका ५०  रुपियाँ टिकट दर तोकिएको छ । साथै ८ बर्ष मुनिका , जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि निशुल्क प्रवेशको व्यवस्था गरेको आयोजकले जनाएको छ  ।

१५ हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा करीब ३० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान छ । महोत्सवमा कूल आम्दानी २० लाख र नाफा १५ लाख ३५ हजार रुपैयाँ हुने अनुमान छ ।

एक सय ५० स्टल हुने महोत्सवमा ज्योति मगर, प्रिती आले, दुर्गेश थापा, भोजराज काफ्ले, राजन चौलागाई, कर्णराज गिरी, रमेश प्रसाई, प्रिन्स मल्ल लगायत विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती हुने आयोजकले जनाएको छ ।

व्यास नगरपालिका– ५ तल्लो पाटन स्थित खेलकुद मैदानमा कात्तिक ४ गतेसम्म महोत्सव सञ्चालन हुनेछ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?