दमौली : राष्ट्रपति रामचन्द्र पौडेलले आफु दलीय राजनीति गतिविधिमा हात नहाल्ने र विकासबाट हात नझिक्ने बताएका छन् ।
शनिवार व्यास नगरपालिका–३ बिपी वनवाटिकामा निर्माण सम्पन्न भएको दमौली सभागृहको शनिबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले विकास निर्माणको कार्यबाट हात नझिक्ने बताए ।
व्यवस्था बदलिए पनि अवस्था नबदलिएको भन्दै राष्ट्रपति पौडेलले पदमा पुग्नेहरुले देशको हितमा काम गर्नुपर्ने जिकिर गरे। अति दलबन्दीले निमुखाको न्याय मर्ने बताउँदै राष्ट्रपति पौडेलले निमुखा जनताले न्याय पाउनुपर्ने र विपन्नलाई आय चाहिएको बताए ।
शहरी विकास मन्त्री सीता गुरुङले सरकारले पूर्वाधार निर्माणमा अहिलेको सरकार लागिरहेको बताइन ।
उक्त कार्यक्रममा तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्ले, तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारी,काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेल,गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ ,गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे,राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने र प्रकाश पन्थले लागायतले विकास निर्माणको कार्य अगाडी बढाउनु पर्नेमा जोड दिए।
शहरी विकास मन्त्रालयको रु २३ करोड ६२ लाखको लागतमा दमौली सभागृह निर्माण सम्पन्न भएको मन्त्रालयका सचिव रवीन्द्रमान श्रेष्ठले बताए।
करिब ७ सय ५० जना क्षमताको उक्त सभाहल गण्डकी प्रदेशकै ठूलो रहेको मानिएको छ । रु २३ करोड ६२ लाख ४३ हजार ३३१ लागतमा उक्त सभाहल श्री डाँफे एमए प्रतिष्ठा जेभी काठमाण्डौले निर्माण गरेको हो ।
करिब छ हजार ५०० वर्गफिट क्षेत्रफलमा दुई ब्लकमा गरी भवन निर्माण गरिएको छ भने लम्बाइ ७५ र चौडाइ ४५ सेन्टिमिटरको बिम निर्माण गरिएको छ । उक्त भवन चार ढलानको बनाइएको छ ।
भवनको भुइँ ढलानमा सवारी पार्किङ, दोस्रो तलामा स्टेज, तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम गर्ने कक्ष रहेका छन् ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?