आजदेखि ‘नीति मन्थन’ कार्यक्रम गर्दै रास्वपा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मूल दस्तावेज निर्माणका लागि सुझाव लिन सोमबारदेखि दुई दिने ‘नीति मन्थन’ कार्यक्रम गर्ने भएको छ।

सोमबार र मंगलबार हुने नीति माथिको बहसका लागि सातवटा विषय छुट्याइएको छ। फरक फरक विषयका जानकारसँग पार्टीले विचार मन्थन गर्ने प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

पहिलो दिनमा पाँच र दोस्रो दिनका लागि दुई विषय गरी बहसका विषय छुट्याइएको छ। सात विषयमा शासकीय व्यवस्था र समाजको बदलिँदो चरित्र पहिलो सत्रका लागि छुट्याइएको हो। दोस्रो सत्रमा शिक्षा, नयाँ प्रविधि र युवा विषय रहनेछ। डा नीति अर्याल, डा सुरेश मानन्धर, बालकृष्ण जोशी, सन्तोष पाण्डे र प्रिया सिग्देललाई विषय विज्ञका रूपमा आमन्त्रण गरिएको छ।

पहिलो दिनको तेस्रो सत्रका लागि ‘भौतिक पूर्वाधार, वातावरण र जलवायु परिवर्तन’ विषय राखिएको छ। डा सङ्गीता सिंह, डा अरविन्दकुमार मिश्र, डा वसन्तराज अधिकारी, शिलशिला आचार्य र भूषण तुलाधरले विषय विज्ञका रूपमा धारणा राख्ने रास्वपाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?