मादीमा एक अर्ब २१ करोडकाे पुल बन्ने

दमौली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको मादी नदीमा एक अर्ब २१ करोड लागतमा आर्क डिजाइनको पुल निर्माण हुने भएको छ । मुग्लिन पोखरा सडकखण्डको व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदीमा आर्क डिजाइनको पुल निर्माण हुन लागेको हो । मुग्लिन पोखरा सडक विस्तार आयोजनाअन्तर्गत उक्त ठाउँमा हाल रहेको पुलभन्दा केही माथि नयाँ पुल निर्माण गर्न लागिएको हो । मादी नदीमा निर्माण गरिने पुलको डिजाइन तयार भएको छ ।

सडक विभागका अनुसार मादी नदीमा निर्माण गरिने उक्त नेटवर्क आर्क पुलको डिजाइन केही दिनअगाडि स्वीकृत भएको छ । उक्त पुलको तयारी काम सुरु भइसकेको र दसैं सकिने बित्तिकै पुल निर्माणको काम थालनी हुने मुग्लिन पोखरा सडक आयोजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनले भने, ‘पुलको डिजाइन स्वीकृत भएको छ, दसैं सकिएलगत्तै निर्माणको चरणमा जान्छ ।’ पाण्डेका अनुसार उक्त पुल निर्माणको ठेक्का जेडआइस्ट अन्नक जेभीले पाएको छ ।

मुग्लिन पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा काम सन्तोषजक भए पनि जामुनेदेखि पोखरासम्मको पश्चिमखण्डमा काम सुस्त छ । सरकारले पश्चिम खण्डमा ठेक्का तोड्नेबारे छलफलसमेत गरेको छ । पूर्वी खण्डको कामका लागि वि.सं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ ।

यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म वि.सं २०७८ जेठ २ गते सम्झौता भई वि.सं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद वि.सं २०८१ भदौसम्म रहेको छ । वि.सं २०२६ सालमा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो ।

पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाखमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?