दमौली : चिसो मौसम सुरु भएसँगै तनहुँका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ । व्यास नगरपालिकाको मानुङकोट, बन्दीपुर, तनहुँसुरलगायतका स्थानमा यतिबेला पर्यटकको चहलपहल बढेको हो ।
तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा सूर्योदयसँगै देखिने कुहिरो हेर्ने पर्यटकको सङ्ख्या पनि बढेको छ । मानुङकोटमा दैनिक एक हजारभन्दा बढी आन्तरिक पर्यटक दृश्यावलोकनका लागि पुग्ने गरेका छन् । कोभिड सङ्क्रमणका बेला मानुङकोटमा एकै दिन १० हजारभन्दा बढीसम्म पर्यटक पुगेका थिए ।
व्यास नगरपालिका-३ निवासी भिमकुमारी थापाले यहाँबाट देखिने दृश्यले सबैको मन लोभ्याउने बताए । गर्मी मौसममा कुहिरो नलाग्ने भएकाले चिसो मौसममा मानुङकोटमा पर्यटकको भीड लाग्ने गरेको व्यवसायी चुडामणि दाहालले बताए ।
तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले मानुङकोट आन्तरिक पर्यटकको गन्तव्यका रुपमा विकास भइरहेको बताए । जाडो महिनामा मानुङकोटमा पर्यटककको राम्रो चहलपहल हुने व्यास-५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए । उनले भने,“मानुङकोटको विशेषता भनेको जाडोयामको हो, जाडोयाममा कुहिराले ढपक्क ढोकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्न विभिन्न ठाउँबाट पर्यटक आउँछन् ।”
मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले पनि आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?