दमौली : पोखराको नागढुंगास्थित युनिक होटलमा भिमादकी एक महिला मृत भेटिएकी छन्। मंगलबार साँझ ७ बजेको समयमा युनिक होटलमा बसेकी तनहुँको भिमाद घर भएकी ३८ वर्षीय सुकु विक मृत फेला परेकी हुन्।
‘होटलको कोठामा साहुनीले अचेत देखिएपछि तत्काल उपचारका लागि चरक मेमोरियल अस्पताल लगिएको थियो। चेकजाँच गर्ने क्रममा चिकित्सकले मृत घोषणा गरे’, जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले भने।
सुकु २ वर्षदेखि नागढुंगाकै शिला रेष्टुरेन्टमा काम गर्दै आइरहेकी थिइन्।मृतक सुकुको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको डिएसपी विकले बताए।
प्रहरीले होटल सञ्चालकसहित ५ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। होटलमा सीसिटिभी क्यामेरा नभएको कारण अनुुसन्धानमा समस्या भएको छ। होटलमा सुकुसहित १ जना पुरुष आएको सञ्चालकले बयान दिएको प्रहरी स्रोतले जनाएको छ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?