काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा नागरिकले अथाह साथ, समर्थन र उत्साह पाएको बताएका छन् । सोमबार राति रामेछापको मन्थलीमा आयोजित कार्यक्रममा ओलीले नागरिकले देखाएको उत्साहले एमालेमा देश बनाउने संकल्प थप जागेको बताए ।
’यो जाँगरलाई देश बनाउने संकल्पको रूपमा लिएको छु, उत्साहको रूपमा लिएको छु’, ओलीले भने । देशको अवस्था नराम्रो भएकोले राम्रो अवस्थामा नबदली नहुने ओलीले बताए । यसका लागि नागरिकको साथ र सहयोग आवश्यक रहेको उनले बताए ।
यो देश बनाउन पर्छ भन्ने बुझेर नै जनताले एमालेको समृद्धिको लागि संकल्प यात्रामा साथ दिएको ओलीको भनाइ छ । देश विदेशका सबै शक्ति एकजुट भएर नेकपा एमालेलाई हुँडारले जस्तो आक्रमण गर्दा पनि कार्यकर्ताले जोगाएको भन्दै ओलीले धन्यवाद दिए ।
एमाले प्रमुख पार्टी भएर मात्र नपुगेको ओलीले बताए । एमालेलाई सरकारबाट हटाएपछि देशको आर्थिक वृद्धिदर ह्वात्तै घटेको उनको आरोप थियो । सरकारले ल्याएको यो बजेटले देशलाई अधोगतितिर धकेल्ने बाहेक केही काम नगर्ने उनले प्रस्ट पारे । अहिले अर्थतन्त्र ओरालो लागेको र युवा पलायन बढेको भन्दै ओलीले चिन्ता व्यक्त गरे ।
सरकार कर्मचारीलाई तलब खुवाउनसमेत ऋण काढ्ने अवस्थामा पुगेको उनको भनाइ छ । सरकार एयरपोर्टबाटै क्वीन्टलका क्वीन्टल सुन तस्करीमा लागेको ओलीले बताए । यस्तो खालको सरकारले देश चलाउँछ ? अहिले देश ओरालोमा चलेको स्टार्ट नभएको गाडी जस्तो भएको छ’, ओलीले भने ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?