सेतीमा मृत भेटिए तनहुँका संगम

दमौली : पोखराको मणिपाल अस्पतालमा उपचारका लागि पुगेका संगम मिश्र सेती पुलमा कपडा छाडेर बेपत्ता भएकोमा आज दिउँसो शव भेटिएको छ ।

उनको शव पोखरा ३ नदिपुर नजिकै सेती नदीमा बीचमा ढुंगामा अड्किएको अवस्थामा केही समय अघि भेटिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

तीन दिनसम्म फेला नपरेपछि कास्की प्रहरीले आज मध्यान्ह १२ बजेदेखि सेती नदी बाँध खोलेर खोजी सुरु गरेको थियो । यस निर्णय प्रभावकारी बनेको कास्की प्रहरी प्रवक्ता एवं डीएसपी श्रवणकुमार बिकले जानकारी दिए ।

तनहुँ घर भई लामाचौर बस्दै आएका १९ वर्षीय संगम मंसिर २५ गते बेलुकी साढे ६ बजेबाट बेपत्ता भएका थिए । सँगै अस्पताल आएका बुवा हरिप्रसाद मिश्र औषधि लिन गएको बेला इमर्जेन्सी वार्डबाटै उनी सम्पर्कविहीन भएका थिए ।

खोजतलास गर्दा मणिपाल नजिकैको सेती नदीमाथि रहेको झोलुंगे पुल परिसरमा उनले लगाएको कपडा र परिचय पत्र भेटिएकाले नदीमा हाम फालेको आशंकामा बाँध खोलिएको थियो ।

ड्याम खोल्दा नदीमा पानीको बहाव बढ्ने हुँदा शव तैरन सक्ने सम्भावना भएकाले यो उपाय अपनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?