तेस्रो ऋषिङ अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका कार्कीलाई

दमौली : ३०२औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ऋषिङ गाउँपालिकाले शुक्रबार आयोजना गरेको तेस्रो अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका २३ वर्षीय गोबिन्द कार्कीले जितेका छन्।

ऋषिङ गाउँपालिका–५ धारुङ भञ्ज्याङदेखि ऋषिङ गाउँपालिका–३ दुबुङकोटसम्मको ४२.२ किमि दूरी दुई घण्टा ५९ मिनेट ४० सेकेन्डमा पार गर्दै गुरुङले उपाधि जितेका हुन् ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकै गोपाल तामाङ  द्वितीय भएका छन् । उनले उक्त दूरी तीन घण्टा ४६ सेकेन्डमा पार गरेका छन् । यस्तै त्रिभुवन आर्मी क्लबकै तिलक बहादुर सुनुवार तृतीय भएका छन् । उनले उक्त दूरी तीन घण्टा ३ मिनेट १२ सेकेन्डमा पार गरेका छन् ।

म्याराथनमा प्रथम हुनेलाई रु ६५ हजार , द्वितीय हुनेलाई रु ४० हजार , तृतीय हुनेलाई रु २५ हजार  नगद प्रदान गरिने ऋषिङ गाउँपालिकाका  प्रवक्ता विजय दरैले जानकारी दिए ।

यसैगरी काठमाडौंका कारण राउत, बैतडीका मोहनदेव जोशी, त्रिभुवन आर्मी क्लबका जुनेस खड्का र एपीएफ क्लबका निरोज भट्ट सान्त्वना भएका छन् । उनीहरुलाई जनही रु १० हजार प्रदान गरिएको छ ।

प्रतियोगितामा ५७ धावकको सहभागिता रहेको थियो ।

म्याराथन धारुङ भञ्ज्याङदेखि दौड सुरु भई ऋषिङ प्रवेशद्वार, रानीपोखरी, गाउँपालिका -७ को कार्यालय, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ (चालिसे) पोखरीभञ्ज्याङ, गोठादी, ढुङ्गाडे, भिरकोट अर्चल्दी, मौरीबास, दाङसिरी हुँदै दुबुङकोट भ्यू टावरमा पुगेर सकिएको थियो ।

खेलमार्फत ऐतिहासिक एवं पर्यटकीय हिसाबले अत्यन्तै महत्त्वपूर्ण स्थान भएकाले पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?