कांग्रेसले सार्‍यो प्रदेश अधिवेशन : दुई दिन पर धकेलिए

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन सरेको छ ।

मंसिर १६ र १७ गतेका लागि तय भएको प्रदेश अधिवेशनको मिति दुई दिन पर धकेलिएको निर्वाचन समितिले जनाएको छ । समितिका एक सदस्यका अनुसार अब प्रदेश अधिवेशन मंसिर १८ र १९ गते हुनेछ । प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन १९ क्षेत्रमा बाँकी रहेको र कतिपय जिल्लामा जिल्ला अधिवेशन नै बाँकी रहेकोले तयारी नपुगेको भन्दै प्रदेश अधिवेशन सार्ने निर्णय भएको हो ।

प्रदेश अधिवेशन सुरु हुनु तीन दिनअघि कांग्रेसले अधिवेशनको मिति सारेको हो । मंगलबार बिहान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल भएको थियो ।

तीन नेताबीच प्रदेश अधिवेशनको मिति सार्ने सहमति भएको कांग्रेसका एक नेताले जानकारी दिए । प्रदेश अधिवेशन सरे पनि केन्द्रीय महाधिवेशनको मिति भने हेरफेर नभएको निर्वाचन समितिको भनाइ छ ।

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?