लगानी सम्मेलन गर्दै आँबुखैरेनी गाउँपालिका

दमौली :  तनहुँको आँबुखैरेनी गाउँपालिकाले लगानी सम्मेलन गर्ने भएको छ । आँबुखैरेनी गाउँपालिकाको आयोजनामा र तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाइको समन्वयमा उक्त लगानी सम्मेलन लागेको हो ।

गाउँपालिकाका नागरिकलाई रोजगारीको अवसरमा दिने मूख्य उद्देश्यले लगानी सम्मेलन गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । जलविद्युत्, कृषि, पर्यटन, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, साहसिक पर्यटन, औद्योगिक क्षेत्र, हस्पिटालिटी लगायतमा लगानी गरी रोजगारीको अवसरमा ल्याउन लगानी सम्मेलन गर्न लागिएको अध्यक्ष बताए ।

उक्त लगानी सम्मेलन आगामी चैतमा गरिने गाउँपालिकाले जनाएको छ । आर्थिक विकासका लागि ठुलो मात्रामा लगानी आवश्यक भएकोले सम्मेलन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए ।

ठुला लगानीकर्ता, अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिहरू, स्वदेशी लगानीकर्ता, विज्ञ र सरोकारवालालाई आमन्त्रित गरी पालिकामा लगानीको लागि आग्रह गरिने गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?