पोखरा : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले गण्डकी सरकार घुमघाममा व्यस्त रहेको भन्दै ध्यानाकर्षण गराएको छ । सोमबार प्रदेशसभा स्थापना दिवसको कार्यक्रम सुरु हुनुभन्दा अगाडि एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई २४ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
“पुँजीगत खर्च न्यून हुनु तर अनुगमन, मूल्यांकन, अतिरिक्त भत्ता, स्वागत सत्कार, सवारी मर्मत तथा इन्धन लगायतका खर्च भने पर्याप्त भएको तथ्यांक देखिनुले सरकार ठोस काममा भन्दा पनि घुमघाममै व्यस्त रहेको पुष्टि गर्दछ,” पत्रमा भनिएको छ ।
एमालेले आफू सरकारमा रहँदा प्राथमिकता दिएका योजनालाई वर्तमान सरकारले प्राथमिकता नदिएको पनि जनाएको छ ।
“गण्डकी प्रदेशलाई मित्रराष्ट्र भारत र चीनसँग जोड्ने कोरला–त्रिवेणी सडक आयोजनाको काम अगाडि बढ्न सकिरहेको छैन । तत्कालीन सरकारले त्रिवेणी नाकातर्फ पर्ने वन क्षेत्रमा सडक निर्माणका लागि आवश्यक पहल काम अगाडि वढाएको थियो,” अधिकारीले भने, “त्यसयता, उक्त सडकखण्ड निर्माण कार्य अगाडि बढाउनेबारे प्रदेश सरकारको ध्यान गएको देखिँदैन ।”
उनले उक्त आयोजनालाई आवश्यक बजेट विनियोजन र प्रक्रिया पूरा गरी उक्त सडकखण्ड निर्माणको प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।
एमालेले पुँजीगत खर्च क्षमता बढाउनुपर्ने, सुशासनमा सरकार कमजोर देखिएको हुँदा सेवा प्रवाहमा नवीन प्रविधिको प्रयोग गर्न सुझाव दिएको छ ।
मुख्यमन्त्री र मन्त्रीहरूजस्तो पनि कार्यक्रममा जाने प्रवृत्तिप्रति एमालेले ध्यानाकर्षण जनाएको छ ।
प्रदेश समन्वय परिषद्को बैठक समयमा नै बस्नुपर्ने, परिषद्का निर्णयहरू कार्यान्वयन हुनुपर्नेमा सरकारले तदारुकता नदेखाउँदा स्थानीय तहको विश्वास गुमेको पत्रमा उल्लेख छ ।
सरकारले प्रदेशका गौरव तथा रूपान्तरणकारी आयोजना कार्यान्वयनमा कमजोरी देखाएको आरोप एमालेको छ ।
ससर्त, समपूरक र विशेष अनुदानबाट सम्पन्न भएका तर भुक्तानी नभएका आयेजनाको सम्बोधन गर्न, समस्याग्रस्त देखिएका क्रमागत र बहुवर्षीय आयोजनाको अध्ययन गर्न पनि एमालेले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
संसद्ले बिजनेस नपाएकोदेखि गैर बजेटरी योजना कार्यान्वयन गर्न नहुने, राजस्व संकलन बढाउनका लागि आन्तरिक स्रोत र राजस्वको दायरा बढाउन सरकारले विशेष ध्यान दिनुपर्ने उल्लेख गरिएको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?