प्रधानमन्त्री प्रचण्डलाई गगन थापाको सुझाव– काम गर्ने तरिका बदल्नोस्

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काम गर्ने तरिका बदल्न सुझाव दिएका छन्। प्रधानमन्त्रीले काम गर्ने तरिका नबदले परिणाम नआउने थापाको भनाइ छ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले दिँदै आएको निर्देशनप्रति संकेत गदै त्यसले मुलुकमा कुनै पनि समस्याको समाधान नहुने जिकिर गरे। निर्देशन मात्रै दिने, तर आफू स्वयंले भने काम गर्ने तरिका नबदल्ने हो भने फरक परिणामको अपेक्षा गर्ने कुरा मुर्खता शिवाय अरु केही नहुने थापाको भनाइ छ।

प्रधानमन्त्रीले कार्यालय प्रमुखले झैं देशको प्रमुखको रुपमा काम गरेर मात्रै मुलुकको समस्या पहिचान हुने र त्यसले समाधान पनि पाउने दाबी गरे। महामन्त्री थापाले तीन वटै तहको सरकारले निर्देशन दिने मात्रै काम गरेकाले जनताको अपेक्षाअनुसार काम हुन नसकेको पनि बताए।

मुलुकका समस्या समाधानका लागि प्रधानमन्त्री प्रचण्डले अतिरिक्त पहलकदमी लिनुपर्ने थापाको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?