दमौली : नवप्रवर्तन कार्यक्रमका लागि बन्दीपुरमा जनपर्याबरण मैत्री तथा सिद्धगुफा बिकास कार्यक्रम छनोट भएका छ । शुक्रबार गण्डकी प्रदेश मुख्य मन्त्री कार्यालय पोखरा र बन्दीपुर गाउँपालिका बिच मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत “बन्दीपुर गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा (क्यान) (कल्चर एडभेन्चर र नेचर) मोडेलमा कार्यक्रम सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा शुक्रबार बन्दिपुर गाउँपालिकाका अध्यक्ष थापा र मुख्यमन्त्री कार्यालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले हस्ताक्षर गरे ।
मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले अवधारणा माग गरेको थियो। कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले अवधारणा पत्र पेस गरेपछि दुवै पक्षबीच सम्झौता भएको हो । स्थानीय तहले नवप्रवर्तनका माध्यमबाट स्थानीय सेवा प्रवाह, सुशासन र स्थानीय आर्थिक विकासमा योगदान दिने परियोजना प्रस्ताव पेश गरेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपयुक्त प्रस्ताव छनोट गर्नेगर्छ। यो कार्यक्रम सञ्चालन हुने पालिकाहरुले वार्षिक २५ लाख भन्दा कम आन्तरिक आम्दानी भएकाले २५ प्रतिशत र २५ लाख माथि वार्षिक आम्दानी भएका पालिकाहरुले ३० प्रतिशत लागत साझेदारी गर्नुपर्छ।
नवप्रवर्तन साझेदारी कोषका लागि कूल लागत १ करोड ३ लाख ९५ हजार ३ सय रहेको छ । त्यसका लागि गण्डकी प्रदेश सरकारले ७५ लाख अनुदान दिएको छ भने गाउँपालिकाले २८ लाख ९५ हजार ३ सय लागत साझेदार गर्नेछ । उक्त कार्यक्रममा स्टोन ट्रेल, रक क्लाइम्बिङ, सौन्दर्यिकरण, सत्तल पाटी पौवा निर्माण, डिजिटल डिस्प्ले संञ्चालन , क्षमता विकासका कार्यक्रमहरु सञ्चालन, कला संस्कृति संरक्षण, पर्यटकीय स्थल हरु को प्रर्बद्धन कार्यक्रम, डकुमेन्ट्री लगायतका अन्य कार्यक्रमहरु सञ्चालन गरिने गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तब्यहरुमा पर्ने यो गुफा बन्दिपुर पुगिसकेपछि छुटाउनै नहुने ठाउँ हो । यो नेपालको मात्र नभई एसियाकै सबैभन्दा ठुलो गुफा मानिन्छ । पृथ्वी राजमार्गको तनहुँको डुम्रेबाट २ किलोमिटर पूर्व तर्फ वडा नं. ४ स्थित विमलनगरमा अवस्थित सिद्ध गुफा समुन्द्री सतहबाट ६०० मिटरमाथि विमलनगरको ठीक दक्षिण भागमा पर्छ ।
सिद्ध गुफालाई बन्दीपुरकै गहनाको रुपमा मानिन्छ । केही भागमा छिपछिपे पानी भएपनि घामको प्रकाश नहुने भएकाले लेउ नलाग्ने हुँदा चिप्लो पनि छैन ।करिब ५०० मिटर भित्रसम्म हिडेपछि गुफाको आकार झनै ठूलो छ । लगभग ८०० मिटर लम्बाइ रहेको यो गुफाभित्र चुन ढुङ्गा पग्लेर बनेका अनेकौं आकृति हेर्न लायक छन् । हजारौँको सङ्ख्यामा चमेरा देख्न पाइन्छ ।
कतै भगवानको मूर्ति त कतै चराचुरुङ्गी र जनावरका तथा विभिन्न आकृतिहरु भेटिन्छन। भ¥याङको सहायताले तल झरेपछि सबैभन्दा फराकिलो ठाउँ पुगिन्छ । जहाँ सहासिक खेल ¥यापलिङ (अध्यारो गुफा भित्रको भिरमा डोरीको सहायताले माथिबाट तल झर्ने खेल) समेत गरिने गर्छ । ९६ मिटर अग्लो भिरमा ¥याप्लीङ शुरू गरिएको एक दशक भइसकेको छ । शिव भगवानको विशेष पूजा गरिने गुफामा श्रावण महिनामा बोलबमको मेला समेत लाग्ने गर्छ । गुफामा समय समयमा साधुहरू आएर पूजापाठ तथा साधना गरी बस्ने गरेका छन् ।
कसरी पुग्ने : काठमाडौंबाट तनहुँको विमलनगर १४० किलोमिटर गाडिमा, बिमलनगरबाट दक्षिण उकालो आधा घन्टा हिँडे गुफामा पुगिन्छ। विमलनगर–गुफा १.३ किमि। गुफा–बन्दिपुर बजार ३.५ किमि। गुफाबाट दुई घन्टा पदयात्रामा बन्दिपुर बजार पुगिन्छ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?