निर्माणाधीन नारेश्वर तालको बाँध निर्माण कार्य सुरु

दमौली : तनहुँको व्यास नगरपालिका–१० स्थित दुम्सिचौरमा निर्माणाधीन नारेश्वर तालको बाँध निर्माण कार्य सुरु गरिएको छ । व्यास नगरपालिकाले दमौली बजारवाट नजिकै रहेको सो ठाउँमा पर्यटकलाई आकर्षण गर्नका लागि कृतिम ताल निर्माण थालिएको हो ।

आन्तरिक एवं बाह्य पर्यटकलाई जलविहार गराउने उद्देश्यले ताल निर्माण गर्न लागिएको नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।  २६ रोपनी जग्गा खरिद र ऐलेनी जग्गा करीब ४० रोपनी गरी कूल ६६ रोपनी क्षेत्रफलमा ताल निर्माण गर्न लागिएको छ ।

यसका लागि आर्थिक वर्ष २०८०/८१ मा ताल संरक्षण प्राधिकरणबाट रु १० लाख, व्यास नगरपालिकाबाट रु ५० लाख र गण्डकी प्रदेश सरकारबाट एक करोड ५० लाख बजेट विनियोजन गरिसकेको बताइएको छ । अहिले ताल निर्माणका लागि जीएस निर्माण सेवाले एक करोड ८० लाख रुपैयाँमा बाँध निर्माणको सम्झौता गरी निर्माण थालनी गरेको छ ।

बहुवर्षीय योजनाको रुपमा सुरु भएको परियोजनाको अहिले पहिलो चरणअन्तर्गत बाँध निर्माणको काम गरिरहेको छ । बाँध निर्माणको लागि एक हप्तादेखि डोजर लगाएर जग खन्ने काम भइरहेको छ ।

तालमा डुङ्गा चलाउने, तालको दायाँबायाँ कटेज तथा फुड ट्र्याक बनाउने कालिका जङ्गलमा रिसोर्ट निर्माण गर्नेलगायत संरचना निर्माण गरिने योजना रहेको व्यास नगरपालिकाले जनाएको छ ।

नारेश्वर तालमा जलविहार गराई तालघरे मार्ग हुँदै पृथ्वीराजमार्गमा पुगेर पर्यटकहरु गन्तव्यमा पुग्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?