दमौली : आज ४२औँ राष्ट्रिय मगर एकता दिवस । देशभरका मगर समुदायले विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मगर स्थापना दिवसका अवसरमा सबै जिल्लाको जिल्ला मगर सङ्घ, नगर र गाउँपालिकास्तरीय मगर सङ्घसँगै विदेशमा रहेका मगरसँग आबद्ध सङ्घसंस्थाले स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्दैछ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार चार सय ९८ रहेको छ । यो कुल जनसङ्ख्याको छ दशमलव नौ प्रतिशत हुन आउँछ ।
दिवसको अवसरमा तनहुँका दश स्थानीय पालिका मध्ये आठ पालिकाले सार्वजनिक बिदा दिएका छन् । जिल्लाका आठवटै पालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै दिवसका अवसरमा आज आफ्ना मातहतका सबै कार्यालय बन्द हुने जानकारी गराएका हुन् ।
तनहुँ जिल्लामा मगर समुदायको बाहुल्यता छ । जिल्लाका भानु, शुक्लागण्डकी र भिमाद नगरपालिकाले मगर दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएका छन् । त्यस्तै, बन्दीपुर, देवघाट, म्याग्दे, ऋषिङ र घिरिङ गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् ।
मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर सङ्घ स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?