काठमाडौं : उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भएको करिब १३ महिनापछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः गृहमन्त्रालयको नेतृत्वमा फर्किएका छन् । उनले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ लिए । २०७९ माघ १३ गते उनी नागरिकता सम्बन्धी बिबादका कारण सांसद पद समेत खारेज भएपछि गृहमन्त्रीबाट हटेका थिए ।
त्यतिबेला उनी ३३ दिन मात्र गृह मन्त्रालयको जिम्मेवारीमा रहें । उक्त विवादमा सर्वोच्च अदालतको फैसलाबाट उनी पदमुक्त भएका थिए । गत वैशाखमा भएको उपनिर्वाचनमा उनी चितवन–२ बाट ६९ प्रतिशत मतसहित निर्वाचित भएर पुनः संसदमा प्रवेश गरेका हुन् । ४८ वर्षिय लामिछानेले मानविकीमा कक्षा १२ सम्मको शैक्षिक योग्यता हासिल गरेका छन् ।
१४ वर्ष अमेरिका बसेर फर्किएका उनी रास्वपा गठन हुनुअघि सञ्चारकर्मीको भूमिकामा थिए । उनी ‘सिधा कुरा जनतासँग’ टेलिभिजन कार्यक्रमका पूर्वप्रस्तोता हुन् । क्यालेक्सी फोरके टेलिभिजनको प्रबन्ध निर्देशकको भूमिकामा समेत रहे ।
२०७९ मंसिरको प्रतिनिधि सभा निर्वाचनअघि उनको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरिएको थियो । रास्वपालाई वैकल्पिक राजनीतिक शक्तिको रुपमा व्याख्या गरिँदै आएको छ । रास्वपाले स्थापनाको छोटो समयमै प्रत्यक्ष र समानुपातिक तर्फबाट २२ सिट प्राप्त गर्दै संसद्मा चौथो दलको स्थान सुरक्षित गर्न सफल भएको थियो ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?