काठमाडौं : गृहमन्त्री रवि लामिछानेले देशभरका जिल्ला सुरक्षा समितिका अधिकारीहरूलाई तीन महिनाभित्र गृहका हरेक सूचक माथि जाने गरी काम गर्न निर्देशन दिएका छन् ।
बिहीबार साँझ गृह मन्त्रालबाट ७७ जिल्लाकै जिल्ला सुरक्षा समितिका अधिकारीहरूलाई भर्चुअलरूपमा सम्बोधन गर्दै गृहमन्त्री लामिछानले भोलिदेखि नै नागरिकले गृह मन्त्रालयको नेतृत्व फेरिएको महसुस गर्ने गरी काम गर्न निर्देशन दिए ।
“अबको ९० दिनमा गृह मन्त्रालयका हरेक सूचक माथि जानुपर्छ । गएन भने गम्भीर समीक्षा हुन्छ । र, काममा आलटाल गर्ने, निर्देशन पालना र लक्ष्य पूरा नगर्नेको मूल्यांकन हुन्छ,” उनले भने ।
उनले तस्करी नियन्त्रण गर्न, सुरक्षा कायम गर्न, प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न र गुन्डागर्दी नियन्त्रण गर्न कसैको निर्देशन नकुर्न पनि भनेका छन् ।
“चोटाकोठामा दौडने काम हाम्रो हो, सेवाग्राहीको होइन । तस्करी नियन्त्रण गर्न, सुरक्षा कायम गर्न, प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न र गुन्डागर्दी नियन्त्रण गर्न कसैको निर्देशन कुरिरहनु पर्दैन । गृह मन्त्रालय हिजो कसरी चलेको थियो थाहा छैन, अब हिजोको जसरी चल्दैन । गृह मन्त्रालयको नेतृत्व फेरिएको महसुस नागरिकले भोलि नै महसुस गर्नुपर्छ । कति दिन रहन्छु थाहा छैन । जति रहन्छु राम्रो गर्छु । नागरिकलाई आशा दिनुबाहेक मेरो स्वार्थ छैन,” उनले भने ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?