आज आइतबार चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७८ मनाइँदै छ ।समृद्ध नेपालको आधार सूचना तथा सञ्चार प्रविधिको विस्तार भन्ने नाराका साथ आज यो वर्षको दिवस मनाइँदै छ ।
दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक भर्चुअल कार्यक्रमको आयोजना गरेको छ । मन्त्रालयका अनुसार विहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रमको सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले यो दिवसले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सहयोग गर्ने बताउनुभयो।
उहाँले डिजिटल पूर्वाधार तथा प्रविधिको विकास र विस्तार गरी अर्थतन्त्रमा सञ्चार तथा सूचना प्रविधिको योगदान बढाउन र सुशासन, समृद्धि र विकासका लागि सरकारले डिजिटल फ्रेमवर्क कार्यान्वयनमा ल्याएको बताउनुभयो ।
कोरोना महामारीको समयमा सूचना प्रविधिको माध्यमबाट सचेतना जगाउने कार्यमा सफलता प्राप्त भएको भन्दै प्रधानमन्त्री ओलीले सूचना प्रविधिको बढ्दो प्रयोग, निरन्तर विकास, विस्तार एवं गतिशीलताबाट प्राप्त अवसरहरुलाई सदुपयोग गर्न आग्रह गर्नुभयो।
सूचना तथा सञ्चार प्रविधिको विकास र प्रवर्द्धन गर्न हरेक वर्ष मे २ तारिखमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउने गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?