तनहुँ प्रशासन भोलि सार्वजनिक बिदामा खुल्ने, नागरिकता,परिचयपत्र र राहदानीको सेवा दिइने

दमौली : जिल्ला प्रशासन कार्यालय तनहुँले भोलिबाट सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाहको विशेष व्यवस्था गरेको छ । चैत २९ गते एक सूचना जारी गर्दै नयाँ वर्ष २०८१ वैशाख ५ गतेदेखि चैतसम्म पर्ने १६ दिनको सार्वजनिक बिदामा नियमित सेवा नरोक्ने जनाएको हो ।

भोलि प्रशासनले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा नरोक्ने सूचनामा जनाएको छ ।

प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार भोलि परेको रामनवमीसहित चण्डी पूर्णिमा, बुद्ध जयन्ती, उभौली पर्व, गणतन्त्र दिवस, रक्षा बन्धन, श्रीकृष्ण जन्माष्टमी र घटस्थापनाका दिन सार्वजनिक सेवा नियमित रुपमा प्रवाह गर्ने व्यवस्था गरेको छ ।

त्यस्तै, धान्य पूर्णिमा–उधौली पर्व, योमरी पुन्डि, क्रिसमस डे, तमु ल्होसार, माघी पर्व, माघे संक्रान्ति, सहिद दिवस, सोनम ल्होसार, राष्ट्रिय प्रजातन्त्र दिवस, महाशिवरात्री र ग्याल्पो ल्होसारमा पनि नियमित सेवा प्रवाह गर्नुपर्ने सरकारले प्रकाशन गरेको राजपत्रको प्रकरण १० मा उल्लेख रहेको सूचनामा जनाइएको छ ।

सोही अनुसार जिल्ला प्रशासन कार्यालय तनहुँबाट नियमित सेवा प्रवाह गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?