मदिराको तालमा आँबुखैरेनीमा साथीको हत्या, ७ जना पक्राउ

दमौली :  तनहुँको आँबुखैरेनीमा एक व्यक्तिको हत्या आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । बुधवार आबुखैरेनी गाउँपालिका वडा नम्बर ३ मा  गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष १८ का अमन गुरुङको हत्या आरोपमा ७ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा आबुखैरेनी गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष २५ का रोहित घले,  वर्ष २४ का आशिष काराखेती, वर्ष २६ का बलराम श्रेष्ठ, वर्ष ३१ का सागर श्रेष्ठ र  वर्ष २१ का कुशल गुरुङ रहेका छन् । यस्तै  गोरखाको गोरखा नगरपालिका वडा नम्बर १३ बस्ने वर्ष २४ का सन्तोष गुरुङ र एक जना नाबालक समेत पक्राउ परेका छन् ।

साथी साथीबिच मदिरा सेवनपछिको विवादमा सो घटना भएको तनहुँका डीएसपी दीपककुमार रायले जानकारी दिए  । आबुखैरेनी गाउँपालिका वडा नम्बर ३ स्थित आबुँगाउँ स्वामी चौतारामा साथीसाथी मिलेर मादक पदार्थ सेवन गरेको र सोही क्रममा उनीहरूबिच बिवाद गरेको खुलेको छ ।

विवादकै क्रममा ७ जनाले साथी अमन गुरुङलाई सोही स्थानको पुरानो कोट जंगल भिरबाट ११० फिट तल चन्दनी खोल्सामा खसाली हत्या गरेको प्रहरीको भनाइ छ ।

उनीहरु विरुद्ध परेको किटानी जाहेरीको आधारमा नियन्त्रणमा लिई ज्यान सम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?