काठमाडौं : सन्दीप जोराको अर्धशतकप्रेरित नेपालले एसीसी इमर्जिङ कपको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध १२० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
शुक्रबार ओमानको अल अमेरत क्रिकेट मैदानमा सन्दीप जोराबाहेक अन्य ब्याटर चल्न नसक्दा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ११९ रनमात्र बनाएको हो ।
सन्दीपले ३९ बलमा चार चौका र दुई छक्कासहित ५० रन बनाए । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको यो तेस्रो अर्धशतक हो । गुल्सन झाले २० र करण केसीले १७ रन बनाए । यसबाहेक नेपाल अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपाल आसिफ सेखलाई आठ रनमा गुमाउँदा कुशल भुर्तेल गोल्डेन डक भएका थिए । कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरी समान पाँच रनमा आउट हुँदा कुशल मल्लले पनि तीन रनमात्र थप्न सके । सोमपाल कामी दुई रन थपे ।
नेपाललाई सस्तैमा रोक्न यूएईका बसिल हमिद, अलि नासिर र जुनैद सिद्दिकीले समान दुई विकेट लिए । मुहम्मद फारुक, अयान अफजल खान र ओमिद सफी रहमानले एक–एक विकेट हात पारे । प्रतियोगिताको साविक विजेता समेत रहेको नेपाललाई एसिया कप छ्नोट हुने सम्भावना कायम राख्न आज जित्नैपर्ने दबाब छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?