छोराछोरी सामुदायिक विद्यालयमा पढाउन व्यास नगरपालिकाको निर्देशन

व्यास नगरपालिका

दमौली :  तनहुँको व्यास नगरपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य रुपमा पढाउने निर्णय गरेको छ ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य रुपमा पढाउने सङ्कल्प गर्दै शिक्षक, कर्मचारीका छोराछोरीलाई समेत सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिने निर्णय गरेको छ ।

सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि यस्तो निर्णय गरिएको व्यास नगरपालिका प्रवक्ता एवं वडा नम्बर ६ का अध्यक्ष जीवन गुरुङले जानकारी दिए । “सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्किँदै जाँदा विद्यार्थीको सङ्ख्यासमेत कम हुँदै जाने अवस्था छ”,  प्रवक्ता गुरुङले भने, “सरकारी तलब खानेहरूका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने आवाज पहिलेदेखि नै उठ्दै आएको हो ।”

विद्यार्थी सङ्गठन तथा अभिभावक सङ्घ–सङ्गठनले पनि पटक–पटक आवाज उठाउँदै आएको उनले बताए ।

यसैगरी नगरपालिका अन्तर्गत वडा नम्बर ११, १०, ९, ७ मा रहेको पराशर मार्ग (घाँसीकुवा–फराकचौर–अधेरीभञ्ज्याङ–माझफाँट, नरङ्गा कलेस्ती) को १०.५ किलोमिटर विश्व बैङ्कको सहयोगमा निर्माण हुने मार्गको टेण्डर प्रक्रिया पूरा भई निर्माण अघि बढाउने सम्बन्धमा सम्बन्धित आयोजनाका परामर्शदाताबाट प्रस्तुतीकरण भई उक्त योजनाको बाँकी रहेका करिब रु २२ करोड रकमलाई अर्को प्राथमिकताका योजनामा लगानी गर्न शहरी विकास मन्त्रालयमा अनुरोध गर्ने निर्णय भएको छ ।

यसैगरी व्यास नगरपािलकाको फोहर व्यवस्थापन गर्न, वर्गीकरण गर्ने काममा जनस्तरमा परामर्श दिन नियुक्त विज्ञ कृष्णप्रसाद भण्डारीबाट हाल सम्पन्न प्रगति विवरण, सुझावहरु बैठकमा पेश भएको र १५ गतेदेखि वडाहरुमा फोहर वर्गीकरण अभियान प्रारम्भ गर्ने निर्णय भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?