इलाम-२ मा मतगणना सुरु

काठमाडौं : इलाम क्षेत्र नम्बर–२ मा मतगणना थालिएको छ । उपनिर्वाचनअन्तर्गत यहाँ शनिबार बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान भएको थियो ।

आइतबार अपराह्नदेखि फाकफोकथुम गाउँपालिकाबाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।

इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना गरिँदै छ । सिटी हलमा दुई स्थानमा मतगणना भइरहेको सो कार्यालयले जनाएको छ ।

मतगणनास्थलमा तारजाली लगाइएको छ । सीसी क्यामेरा समेत जडान गरिएको छ ।

यहाँ ५८ प्रतिशत मत खसेको थियो । यो क्षेत्रमा नेकपा (एमाले)का तर्फबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बू, स्वतन्त्र डकेन्द्रसिंह लिम्बू थेगिमलगायत १९ उमेदवार प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?