सिधाकुरा टिमलाई बयानका निम्ति वैशाख २० गते बोलाइयो, यस्तो छ आदेश

काठमाडौं : सर्वोच्च अदालतले सिधाकुरा डटकममा प्रसारित सामग्री न्यायालयप्रति भ्रम र अनास्था फैलाउने उद्देश्यबाट सार्वजनिक गरिएको ठहर गरेको छ ।

फैसलामा संलग्न नभएका न्यायाधीश र बहसमा नरहेका वरिष्ठ अधिवक्तासहित अरू व्यक्तिबाट अदालत प्रभावित भएको भन्ने सामग्री न्यायालयको गरिमा तथा मर्यादामा आँच पुर्‍याउने र न्यायसम्पादनसम्बन्धी कार्यमा अवरोध खडा गर्ने दुराशय र नियोजित तरिकाले उत्पादन र प्रसारण गरिएको सर्वोच्चको ठहर छ ।

न्यायाधीशहरू नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले यस्तो कारण दिँदै प्रसारित सो सामग्री २४ घण्टाभित्र हटाउन आदेश जारी गरेको छ । थप सामग्री प्रसारण नगर्न पनि सिधाकुरा टिमका नाममा आदेश जारी गरेको छ ।

सर्वोच्चले अदालतको अवहेलनामा किन कारबाही गर्नु नपर्ने हो, प्रसारित सामग्रीको आधिकारिकतासहित बयानका निम्ति यही वैशाख २० गते उपस्थित हुन विपक्षीका नाममा आदेश जारी गरेको छ ।

सिधाकुराले फैसलामा संलग्न नै नभएका वर्तमान वरिष्ठतम न्यायाधीश डा. आनन्दमोहन भट्टराईको नाम मुछेपछि सर्वोच्चले आफैँ सरोकारमा लिएर (सुमोटो) अदालतको अवहेलनासम्बन्धी कारबाही चलाएको थियो । सर्वोच्चका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले आइतबार दायर गरेको निवेदनमा सोमबार सर्वोच्चको संयुक्त इजलासले यस्तो आदेश गरेको हो ।

आदेश पढ्नोस्–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?