जंगलमा आगो लगाउने पौडेल पक्राउ

पोखरा : जंगलमा आगो लगाएकाे आराेपमा एक जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३ का ३९ वर्षीय अगन्धर पौडेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माका अनुसार पौडेलले वैशाख २१ गते अन्नपूर्ण गापा वडा नं. ३ मराम्चेस्थित मराम्चे सामुदायिक वनमा आगो लगाएका थिए ।

विशेष सूचनाका आधारमा पौडेललाई सोही दिन नियन्त्रणमा लिइएको डीएसपी शर्माले जानकारी दिए ।

पौडेलले आफ्नो खरबारीमा आगो लगाएको र सो आगो अनियन्त्रित भएर जंगलमा लागेको डीएसपी शर्माले बताए । उक्त आगो वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोली र स्थानीयले पनि नियन्त्रणमा लिन सकेको थिएन ।

पौडेललाई आवश्यक कार्वाहीका लागि डिभिजन वन कार्यालय बगरमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?