आज देखि व्यासमा प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध, प्रयोग गर्नेलाई जरिवाना

दमौली  : तनहुँको व्यास नगरपालिकाले आज देखि प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोग गर्ने प्रतिबन्ध गरिएको छ  । नगरपालिकाले आज जेठ १ गतेदेखि नगरभित्र प्लाष्टिक झोला प्रयोगमा निषेध गरेको हो ।

आज देखि  प्लाष्टिक झोला प्रयोगकर्तादेखि उत्पादकसम्मलाई जरिवाना शुल्क निर्धारण गरिएको नगरपालिकाका वन तथा वातावरण समिति संयोजक रनसिंह नेपालीले जानकारी दिए ।

उनका अनुसार यही वैशाख २३ गते कार्यपालिकाले ‘व्यास नगर प्लाष्टिकजन्य वस्तु प्रतिबन्धसम्बन्धी कार्यविधि–२०८१’ पारित गरिसकेको छ । प्लाष्टिकका झोला प्रयोगकर्तालाई प्रथम पटक रु १०, दोस्रो पटक रु. ५० जरिवाना शुल्क तोकिएको नेपालीले बताए । प्लाष्टिक झोला बिक्रेतालाई प्रथम पटक रु. पाँच सय, दोस्रो पटक रुे एक हजार र तेस्रो पटकदेखि हरेक पटक रुे तीन हजारका दरले जरिवाना हुने व्यवस्था गरिएको उनको भनाइ छ ।

उत्पादकलाई प्रथम पटक रु. दुई हजार, दोस्रो पटक रु. चार हजार र तेस्रो पटक रु. छ हजार जरिवानाको व्यवस्था गरिएको छ । तत्पश्चात् पनि प्लाष्टिकका झोला प्रयोग गरेको भेटिएमा नाम सार्वजनिक गरी अन्य दण्ड सजाय हुने प्रावधान रहेको नेपालीले जानकारी दिए ।

नगर क्षेत्रमा निषेधित प्लाष्टिकजन्य वस्तु उत्पादन, बिक्री वितरण, आयात निर्यात, भण्डारण तथा प्रयोग गरेको सूचना दिने व्यक्ति, जफत गर्ने कार्यमा संलग्न अनुगमन समितिका सदस्य तथा कर्मचारीलाई जरिवाना रकमको ५० प्रतिशत दामासाहीले पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।

नगरभित्रका दिदीबहिनीलाई झोला बनाउने तालिम प्रदान गरी स्वरोजगार बनाउने अभियान नगरपालिकाले लिएको नगर उपप्रमुख इन्दिरा दरैले जानकारी दिइन् । महिलाहरूले उत्पादन गरेका कपडाका झोला प्रत्येक पसल पसलमा पुगिसकेका छन्”, उनले भने, “नगरलाई सुन्दर र स्वच्छ बनाउने अभियानमा आमनगरवासी एकजुट भएर लाग्नुपर्छ ।”

स्थानीय टोल विकास संस्था, सामाजिक सङ्घसंस्था, जनप्रतिनिधि, उद्योगी, व्यवसायी, मासु, दुग्ध, कपडा, किरानालगायत सबै व्यापारी, तनहुँ उद्योग वाणिज्य सङ्घसँग व्यापक छलफल गरी अभियान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?