
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदभित्र अप्रिय स्थितिको सिर्जना भएको भन्दै त्यसको जिम्मेवारी सभामुखले लिनुपर्ने बताएका छन्।
प्रतिनिधि सभा बैठकपछि पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले संसदभित्र अप्रिय स्थितिको सिर्जना भएको भन्दै सभामुखको कारण त्यस्तो स्थिति आएको बताएका हुन्। उनले सभामुखले सत्तारुढ दलका तीन पार्टीका अध्यक्षहरुसँग परामर्श गरेर उनीहरुको निर्देशनअनुरुप बैठकमा कांग्रेसलाई पेलेर अगाडि बढेको बताए।
उनले संसदमा जबर्जस्ती कार्यसूची प्रवेश गराएर सभामुखले अप्रिय र अनपेक्षित स्थिति सिर्जना गरेको बताए। उनले सभामुखले आफ्नो निष्पक्ष भूमिका निर्वाह गर्न चुकेको बताए।
महामन्त्री थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका सांसदहरुलाई आफ्नो कार्यकर्ता ठानेको भन्दै कांग्रेसका सांसदहरुलाई त्यस्तो नगर्न चेतावनी दिए। उनले सभामुखले जबर्जस्ती बैठकअगाडि बढाएपछि कांग्रेसका सांसदहरुले विरोध गरेको भन्दै एमाले अध्यक्ष ओलीले कांग्रेसका सांसदहरुलाई निर्देशन दिन खोजेको उल्लेख गरे।
उनले भने, ‘आज सभामुखले गर्नुभएको व्यवहार र जर्बजस्ती सरकारी काम कारबाही अगाडि बढाउन खोजिसके पछाडि हामीले आफ्नो ठाउँबाट सरकारको काम, कारबाही अगाडि बढाउन नदिने कुरा राख्ने हाम्रो कोशिस हो। तर एमालेका अध्यक्षज्यू एउटा कुरामा झुक्किनु भयो जस्तो लाग्यो। उहाँले कांग्रेसका सांसदहरुलाई आफ्नो कार्यकर्ता ठान्नुभयोजस्तो लाग्यो। एमालेका सांसदहरुलाई उहाँको कुरा हो, उहाँले हप्काउने, धम्क्याउने, तर्साउने, उठबस गराउने उहाँले त्यो अधिकार राख्नहुन्छ होला। उहाँहरुको सम्बन्ध पनि त्यस्तै होला। तर नेपाली कांग्रेस पार्टीका बारेमा त्यो नसोच्नु होला। कांग्रेसका सांसदका बारेमा पनि त्यो नसोच्नु होला। हामी तपाईका कार्यकर्ता होइनौँ। हामी तपाईंलाई सम्मान गर्छौँ। तपाईंले हामीलाई अह्राउने होइन भन्ने कुरा जानकारी गराउन चाहन्छौँ। हामी सदनमा मुठभेडको स्थिति सिर्जना होस् भन्ने हामी कहिले पनि चाहँदैनौँ।’
महामन्त्री थापाले सरकारले जसको फाइल खोले पनि हुने बताए। उनले सरकारमा बसेका मन्त्रीहरुले यसको र उसको फाइल खोल्छौँ भनेर अभिव्यक्ति दिइरहेको भन्दै काम गरेर देखाउन आग्रह गरे। उनले सबै फाइल खोले पनि कांग्रेस त्यसको लागि तयार रहेको स्पष्ट पारे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?