
दमौली : तनहुँको व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले नगरको विकासमा उपलब्धि हासिल गरेको दाबी गरेका छन् । नगरप्रमुख न्यौपानेले दुईवर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्दै विकास निर्माण र गरिबी निवारणलाई प्राथमिकता दिएर काम गरेको भन्दै उनले नगरवासीको आधारभूत आवश्यकता पूरा गरी विकासका काम अगाडि बढाएको बताए।
नगरको भौगोलिक अवस्था र यसको आधारमा जनताको प्राथमिकता र आवश्यकता पहिचान गरी त्यसको समाधानका लागि काम गरेको उनको भनाइ छ ।
२०७९ वैशाख ३० गते भएको स्थानीयतहको निर्वाचन र जेठ ५ गते पुन मतदान भएको व्यास-८ को निर्वाचन समेत गरी जेठ ११ गते न्यौपाने नगरप्रमुखमा निर्वाचित भएका थिए ।
प्रेश विज्ञप्ति
२०७९ बैशाख ३० गते भएको स्थानीयतहको निर्वाचन, मिति २०७९/०२/०५ गते पुनः मतदान भएको वडा नं. ८ को निर्वाचन सम्पन्न भई आजैका दिन २०७९ जेठ ११ गते म समेत नगरपालिकाका जनप्रतिनिधीहरुले आफ्नो कार्याकालको २ वर्ष पुरा भएको अवसरमा सम्पूर्ण नगरवासी बुवा, आमा, दिदिबहिनी, दाजुभाईहरुमा सम्पूर्ण जनप्रतिनिधीहरुको तर्फवाट आभार व्यक्त गर्दछु ।
विगत दुई वर्षमा यस नगरपालिकाले गरेका कामहरु विदितै छ । आ.व. ०७९/०८० मा आन्तरिक आयमा आएको कमी र संघ प्रदेशवाट दिइएको समानीकरण, राजश्व वाँडफाँडमा अन्तिम किस्तामा गरिएको कटौतीले निर्धारित योजनाहरु सम्पन्न हुन नसकी अधुरो रहने अवस्था आयो । यस वर्ष समेत अपेक्षित आयमा कटौती हुने संकेतहरु देखिएका छन् । यसर्थ नगरसभावाट निर्धारण गरिएको वार्षिक योजनाहरुलाई पूर्णता दिन नसकिएको यहाँ स्मरण गर्दछु । यस वर्ष विश्वबैंकको सहयोगमा घाँसीकुवा– फराकचौर– पोख्रेलफाँट–माँझफाँट–कलेस्ती क्षेत्रमा निर्माणहुने “परासर मार्ग” करिव ४१ करोडमा निर्माण संझौता भई ०८२ असार सम्म सम्पन्न हुनेछ । व्यास १ र २ जोड्ने मोटरेवल पुल संघ सरकारको समपुरक योजनामा निर्माण भईरहेको छ । यस वर्ष वडा नं. ६, १३ र १४ का नयाँ वडा कार्यालय भवन, स्याम्घा स्वास्थ्य चौकी (वडा नं. ६), घाँसीकुवा स्वास्थ्य चौकी (वडा नं. १२) मा निर्माण सम्पन्न गरि सञ्चालनमा छन् । वडा नं. ८ को कार्यालय भवन ठेक्का लगाई सकिएको छ भने वडा नं. ३ को जग्गा प्राप्ती प्रकृया अन्तिम भएपछि यसै वर्ष ठेक्का प्रकृया अघि बढाईने छ ।
खड्गकाली मार्ग संघ समपुरक योजना, शहिद कालिका मार्ग र दमौली–केशवटार मार्ग प्रदेश सरकारसँगको समपुरक योजनामा निर्माणधिन छन् । देवीडाँडा, कमेरे साँध, मानहुकोट, गजौडे मुल, नयाँवस्ती खानेपानी योजनाहरु, चिस्यान केन्द्र, बैरेनी जग्गा विकास योजना, नारेश्वर ताल, व्यास नगर आधारभूत अस्पताल सम्पन्न हुने चरणमा पुगेका छन् । यस वर्ष वडा नं. १४ मा रुम्सी नमुनागाँउ निर्माण गर्न मुख्यमन्त्री नवप्रवर्धन कार्यक्रम उत्साहका साथ सञ्चालन भएको छ । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि क्षेत्रमा उल्लेख्य कामहरु भएका छन् । वडा नं. १० मा गौ संरक्षण केन्द्र सञ्चालनमा रहेको छ भने वडा नं. ०७ शेषमटारमा अभिावक विहिन र अती विपन्न बालबालिकाहरुमा शिक्षाको पहुँच पुर्याउने हेतुले ५३ जना विधार्थीहरुलाई पुर्ण आवासिय व्यवस्थाको साथ कक्षा १ देखि ७ सम्म व्यास नगर समता विद्यालय सञ्चालन गरिएको छ ।
यसवर्ष वडाहरुबाट निर्धारण गरिएका प्राय ८०% योजनाहरु सम्पन्न भएका र बाँकी २०% सम्पन्न हुने चरणमा रहेका छन् । सरसफाई प्रशोधन व्यवस्थापनका दीर्घकालिन योजना अघि बढाइएको छ । कार्यालय प्रमुख परिवर्तन भईरहने समेत यसवर्ष केही मुद्दाका चुनौतीहरु रहेता पनि अपेक्षाकृत शान्त सौहार्द रुपमा नगरपालिकाका सबै निर्णयहरु सर्पसम्मत रहेका छन् । यी कार्यहरुमा सहयोग सदभाव राख्नुहुने सम्पूर्ण जनप्रतिनिधीहरु, राजनैतिक दलका मित्रहरु, सुरक्षा निकाय, सामाजिक संघ संस्था, सरकारी गैर सरकारी कार्यालयहरु, पत्रकार मित्रहरु, नगरपालिकाका कर्मचारीहरु र आम नगरवासीहरुमा हार्दिक आभार व्यक्त गर्दछु ।
वैकुण्ठ न्यौपाने
नगर प्रमुख
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?