
दमौली : तनहुँको व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले मेयर पदको पुनः मतगणना गर्ने कार्य रोक्न उच्च अदालत पोखरा समक्ष निबेदन दिएका छन् ।
मेयर न्यौपानेले बुधबार उच्च अदालत पोखरामा निबेदन दिदै उक्त मुद्धा सर्वाेच्च अदालतमा बिचाराधिन रहेको हुँदा सर्वाेच्च आदलतमा मुद्धाको टुङ्गो नलाग्दासम्म उच्चको फैसला कार्यान्वयन नगर्न माग गरेका हुन् ।
नेकपा एमालेको समर्थनमा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका पूर्व सह–महामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराजले मतगणनाको क्रममा धाँदली भएको भन्दै मत परिणाम रद्ध गरेर पुनःमतगणना गर्न २०७९ जेठ १२ गते उच्च अदालत पोखरामा रिट हालेका थिए ।
जोशीको उक्त रिटमाथि उच्चले निर्वाचन भएको २ वर्षपछि पुनःमतगणना गर्ने फैसला गरेको थियो । गत जेठ १ गते जोशीको पक्षमा फैसला गर्दै उच्च अदालतले असार २ गते पुनःमतगणना गर्ने व्यवस्था मिलाउन उच्च अदालतका रजिस्ट्रारलाई निर्देशन जारी गरेको थियो । उच्च अदालतको फैसला अनुसार पुनः मतगणना गर्ने दिन नजिकिएको अवस्थामा मेयर न्यौपानेले पुनः मतगणना गर्ने कार्य रोक्न उच्च अदालतमा निबेदन दिएका हुन् ।
उच्च अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्दै फैसला कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गर्दै मेयर न्यौपानेले गत बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । सर्वाेच्च अदालतले उक्त रिटमा लगातार तिन दिन हेर्न नभ्याइने सुचिमा राखेको थियो । उक्त रिटमा आगामी असार २ गते आइतबार पुनः पेशी तोकिएको थियो । तर उच्चको फैसला अनुसार असार २ गते बिहान १० बजे उच्च अदालतमा पुनः मतगणना हुने तय भएको छ ।
यसैविच जिल्ला निर्वाचन कार्यालय तनहुँले व्यास नपाको मेयर पदको पुनः मतगणना असार २ गते १० बजेदेखि उच्च अदालत पोखरामा मतगणना हुने बारेमा मेयर पदका उम्मेदबारहरुलाई जानकारी गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?