कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशी बलरलाई आईसीसीले गर्‍यो कारबाही

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेश बलर तान्जिम हसन साकिब कारबाहीमा परेका छन् । उनलाई आईसीसीले कारबाही गरेको हो ।

आईसीसी टी- २० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र बंगलादेशबीच भएको खेलमा तान्जिमले पौडेलमाथि गलत व्यवहार गरेको भन्दै आईसीसीले उनलाई दण्डित गरेको हो । उनी उक्त खेलमा म्यान अफ दि म्याचसमेत बनेका थिए ।

नेपालले ब्याटिङ गरिरहँदा तान्जिमले क्रिजमा रहेका कप्तान पौडेलसँग नोकझोक गरेका थिए । त्यसक्रममा उनले पौडेललाई हतसमेत लगाएका थिए । सोहीकारण उनलाई कारबाही गरिएको जनाइएको छ ।

आईसीसीले कारबाहीस्वरुप तान्जिमलाई म्याच फिको १५ प्रतिशत जरिवाना गरेको छ । उनले आईसीसीको खेलाडी आचारसंहिताको २.१२ तोडेको जनाइएको छ । उनले आफ्नो गल्ति स्वीकारेका छन् । साथै आफूमाथि गरिएको कारबाही पनि तान्जिमले स्वीकार गरेका छन् ।

खेल सकिएपछि यो घटनाका बारेमा कप्तान रोहित पौडेललाई प्रश्न गरिएको थियो । जवाफमा पौडेलले तान्जिमले आफूलाई उक्साउँदै ‘हिट मी’ भनेको र आफूले उनलाई ‘बल मी’ भन्ने जवाफ फर्काएको जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?