
काठमाडौं : जुन महिनाको २१औं तारिख अर्थात् असार ७ गते आज देशभर विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ। संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन सुरु गरेको हो ।
अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्र संघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए । प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले समर्थन गरेका थिए ।
यो प्रस्तावलाई हाल विश्वका धेरै देशले समर्थन गरिसकेका छन् । संस्कृत भाषाको योग शब्दको अर्थ जोड्नु भन्ने हुन्छ । ‘योगश्चित्तवृत्तिनिरोधः’ अर्थात् मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ । योग दिवसका अवसरमा विभिन्न संघसंस्थाले विविध कार्यक्रम आयोजना गर्ने भएका छन् ।
योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्तिलगायत सकारात्मक गुणको विकास हुन्छ । यस वर्ष दिवसको नारा ‘घरघरमा योग, परिवारका साथमा योग’ भन्ने रहेको छ ।
नेपालको अमूल्य निधिका रूपमा रहेको योग, प्राणायाम, आयुर्वेद र जडीबुटीको विकास एवं विस्तार गरी हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै स्वस्थ, समुन्नत र समृद्ध बनाउने अभियानका साथ योग दिवसको कार्यक्रम गर्न लागिएको हो । योगको उत्पत्ति नेपाली भूमिमै भएको विश्वास गरिन्छ।
भगवान् शिवले पत्नी पार्वतीलाई पहिलोपटक योग शिक्षा दिएको विभिन्न शास्त्रीय ग्रन्थमा वर्णन गरेको पाइन्छ। शिव र पार्वतीबीचको संवादलाई प्रचारप्रसार गरी योग संसारभर फैलिएको थियो । बीचमा लुप्तप्रायः भए पनि पछिल्लो समयमा अन्तर्राष्ट्रिय एवं राष्ट्रिय योग दिवस मनाउन थालेपछि यसको पुनःजागरण नै सुरु भएको छ ।
प्रत्येक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाइन्छ । विसं २०३६ देखि उत्तरायण सुरु हुने माघ १ गते योग एवं प्राकृतिक चिकित्साका अनुसन्धानकर्ता डा हरिप्रसाद पोखरेलको सक्रियतामा नेपालमा योग दिवस मनाउन सुरु गरिएको हो ।
यसैबीच यस दिवसको अवसरमा पोखरामा पातञ्जल योग समिति नेपाल कास्कीले योग जागरण कार्यक्रम आयोजना सम्पन्न गरेको योग प्रशिक्षण एवं पातञ्जल योग समिति नेपालका केन्द्रीय सदस्य प्रदीपकुमार श्रेष्ठले जानकारी दिए ।
कार्यक्रम आज बिहान ५ देखि ७ बजेसम्म पोखरा-६ बुलौंदीस्थित पोखरा इभेन्ट सेन्टरमा भएको थियो । आफू र समाजका लागि योग भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको रमा श्रेष्ठले जानकारी दिइन् ।
श्रेष्ठका अनुसार योग ध्यानले शारीरिक, मानसिक, सामाजिक, अध्यात्मिक जीवन शैलीलाई ठूलो प्रभाव पार्दछ । अहिलेको परिप्रेक्षमा पनि योग तथा ध्यान अति नै जरुरी छ ।
उनले थपिन्, ‘योगीका लागि योग साधना हो, रोगीका लागि योग औषधि हो भने साधारण व्यक्तिका लागि योग जीवन पद्धति हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?